Birendranagar Municipality

आवश्यकताले जन्माएको जीवन उपयोगी शिक्षा

लठ्ठी शिक्षाबाट (उठ्, बस्, पढ्, किन पढिनस्, लतग खोजिस्) प्रभावितहरुनै आज यो देशको सम्पुर्ण हैसियतमा पुगेकाले यसले गलत परिणाम दिएको हो भन्न सकिन्छ ।
ध्रुवराज गौतम

पाठ्यक्रम, पाठ्यपुस्तकको अन्तरवस्तु र शैक्षणीक योजना नमूना तथा मूल्याँकनको भावनात्मक सम्वन्ध शिकारुको रुची, चाहाना र स्थानीय आवश्यकता बाट प्रतिविम्वीत भइ कक्षाकोठामा विद्यार्थीलाइ मालिकको रुपमा प्रस्तुत हुन दिने अवसरको सृजना गर्नुनै शैक्षिक गुणस्तरको एक महत्वपुर्ण भागको रुपमा लिन सकिन्छ । वदलिंदो समय परिस्थिति र उच्चतम लक्ष्य प्राप्त गरी विलासिताको खोजीमा दौडिएको हाम्रो समाज त्यसैबाट प्रभावित शिक्षाक्षेत्र आज विद्यार्थी र शिक्षकको थकाइ मार्ने थलो बनेको छ ।

 

जवाफदेहीताको शुन्यता दोषारोपणको अग्रताको बीचमा रुमल्लिएको कक्षा कोठा, सयौं मानसिक तनाव बोकेको थकित शिक्षक र उत्सुकताले भरिएका विद्यार्थी बीचको निष्र्कषबाट प्राप्ती खोजी गरिरहेका छौं हामी । शिक्षा क्षेत्रको आमूल परिवर्तन गर्न खोजिएको नै हो भने यसको धरातलीय आवश्यकतालाई नै केन्द्रविन्दु मानेर सुधारात्मक दिशामा अगाडि बढ्नुपर्ने देखिन्छ ।


२०७४ सालमा विद्यालय खुलेको दिनको विवरण
बिदाहरु शनिवार ५३ दिन
वर्षे र हिउदे विदा ४५ दिन
स्थानीय विदा ५ दिन
निर्वाचन विदा १५ दिन
सार्वजनिक विदा/पर्व विदाहरु ४८ दिन
परीक्षा सञ्चालन २४ दिन
राजनीतिक वन्द हडताल ५ दिन
विद्यालय खुल्ने १९५ दिन


प्राय गाउँघरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु घरको काम तथा मौसम अनुसारको खेतीपाती गर्ने समयमा घरमै व्यस्त हुने गरेको पाइन्छ । जसका कारण विद्यालयमा पाठ्यभार सक्न हतार हुन्छ । विद्यार्थीको सिकाई उपलब्धी उसको गुणस्तर तथा क्षमताको पहिचानको लागि समय नै हुँदैन । पाठ्यक्रमले निर्दिष्ट गरेको उद्देश्यको कार्यन्वयन पनि भएको हुँदैन ।


अर्कोतर्फ हामीमा शिक्षाप्रतिको उदासिनता र विद्यालयप्रतिको सकारात्मक सोचको अभाव छ । अझै पनि प्रायः अभिभावकलाई र स्थानीय तहबाट अनुगमन तथा मुल्याँकन लगायत शिक्षा सम्बन्धी थुप्रै अधिकारको सुनिश्चितताका लागि शिक्षा नियमावाली संशोधनको प्रक्रियामा छ ।


नयाँ संविधानले स्थानीय तहलाई माध्यामिक शिक्षा सम्मको अधिकार दिएको छ । वरिष्ठ तथा कनिष्टको होडवाजीले धेरैजसो स्थानीय तहमा अझै पनि शिक्षाका कर्मचारीको अभाव छ । स्थानीय तहलाइ यो अधिकार दिनु भनेको विद्यालय स्थानीय समूदायमा हस्तान्तरण गर्ने सरकारको असफल योजनाको एक छायाँ हुनेछ । शिक्षा यति संवेदनशील विषय वस्तु हो की यसले १०० वर्ष पछि यो देशको कस्तो भविष्य हुनेछ भन्ने कुराको पथप्रदशकको रुपमा काम गर्दछ ।

 

हुनत नेपालमा पञ्चायती व्यवस्था होस् या राणकालीन अवस्था सबै व्यवस्थाले आफ्नो शाशन प्रणाली टिकाउनका लागि देशको शिक्षा नीति बनाएका थिए । विद्रोहनै गरेपनि अहिलेका सत्तासीन राजनीतिक दलका नेताहरु त्यही शिक्षावाट प्रभावित भएको कारण यो देशको अवस्था यस्तो हुन गएको हो भन्ने कुराको अनुमान गर्न सकिन्छ ।


लठ्ठी शिक्षाबाट (उठ्, बस्, पढ्, किन पढिनस्, लतग खोजिस्) प्रभावितहरुनै आज यो देशको सम्पुर्ण हैसियतमा पुगेकाले यसले गलत परिणाम दिएको हो भन्न सकिन्छ । यो जनशक्ति भनेको पञ्चायती व्यवस्थाको शिक्षावाट प्रभावित जनशक्ति हो । जतीनै सक्षम भएपनि समकालीन रहन सहन र शिक्षाले मानिसको सोचाइमा प्रभाव पार्छ ।


२०५२ सालबाट शुरु भएको १० वर्षे जनयुद्धको सुक्ष्म अध्ययन गर्ने हो भने पनि वहुदलीय प्र्रणाली स्थापनापछि शिक्षामा आएको परिवर्तनबाट जन्मेको शैक्षिक वेरोजगारको जमातले नै यो युद्धलाइ प्रत्यक्ष सहयोग पु¥याएको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । सत्तामा बसेर भत्ताको मात्र आश गर्ने सबैलाई सधैं छायाँमा राख्ने संस्कार र शिक्षा कसले दियो भन्दा सत्ता टिकाउन तयार गरेको शिक्षा नीतिले दिएको थियो ।


वर्तमानलाई हेर्दा शिक्षक कुन हो राहत, निजी श्रोत तथा थुप्रै नामले परिचय दिएको छ सरकारले । आफ्नै भविष्यको लागि संघर्षमा छन् शिक्षक अनि विद्यार्थीको भविष्य कता छ त ? यो कुराको जवाफ कसले दिने हो ? एउटा गुरु कक्षामा प्रवेश गर्दा हजारौं तनावका भारी बोकेर कक्षामा प्रवेश गर्दछ भने उसले कस्तो जनशक्ति उत्पादन गर्दछ ? उसमा स्वयं राज्यप्रतिको विद्रोही भावना छ भने उसले कस्ता जनशक्तिको उत्पादन गर्ला ? यसले प्रष्ट रुपमा के देखाएको छ भने राज्य जब जब शिक्षालाइ एउटा झारो टार्ने पक्षको रुपमा हेर्ने गर्दछ यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने कुरामा दुईमत छैन ।


अर्को महत्वपूर्ण पक्ष रहेको छ प्रविधिक शिक्षा अतिनै चर्चाको रुपमा देखिएको छ । १५ महिने, १ वर्षे अनेक समय रेखा कोरेको छ प्रविधिक शिक्षाले । तर अध्ययन पश्चात् कहाँ हो जाने ? कहाँ छ यसको सहज अवतरण ? फेरी महंगो प्रविधिक शिक्षा पढेर वेरोजगार ? वास्तवमा शिक्षा क्षेत्रको अदुरदर्शितालाई प्रश्न उठाउने हो भने करौडौं प्रश्नको उत्पति हुन्छ । यसको मूल दोषी पनि भेटिंदैन र राज्यलाई कुन दिशामा लिड गरिरहेको छ भन्ने कुरा समृद्धिको सपना बाँड्ने राजनीतिक नेतृत्वले बुझ्नु पर्नेछ ।


आदरणीय शिक्षाविद् हरुको विश्लेषण पनि आज शिक्षालाई राष्ट्रिय उत्पादनमा लगानी गर्नुपर्दछ भन्ने खालको देखिंदैन । त्यसकारण शिक्षाप्रतिको दरिद्रपनको समाप्त हुनुपर्दछ अनि मात्र नयाँ युगको शुरुवात हुनेछ । विद्यार्थीले पाउने १० वर्षे विद्यालय शिक्षानै हो संस्कार र शिक्षाको जग । जसमा चरम लापरवाही र छाडापन बढिरहेको छ । शिक्षकहरु सेवा, सुविधा, वरीयता तथा राज्यको उपेक्षाका कारण थकित छन् । पुराना शिक्षकहरु त झनै कहिले जाला घाम भनेर उमेरको हदवन्दी कुरेको देखिन्छ ।


विद्यार्थी समक्ष शिक्षक पुग्नै नसकेको अवस्था देखिन्छ । अनुगमन गर्ने निकायको कार्यालय कहाँ हो आफैलाइ थाहा छैन । कुहिरोमा हराएको काग जस्ता भएका छन् शिक्षाका कर्मचारीहरु । अर्कोतर्फ शिक्षकहरु धेरै परिचय बोकेर एउटै विद्यालयमा कार्यरत छन् । जस्तै– निजी श्रोत, लिएन, स्थाई, अस्थाई । तिनै शिक्षकले विद्यार्थीको पनि थुप्रै परीचय वनाइदिन्छन ए देखि ई ग्रेड सम्म । यहीनै वास्तविकता हो र यसको प्रभाव सोझा साझा अभिभावकलाइ पर्छ । जसले जवर्जस्ती साक्षर अभियानमा साक्षर नामले परिचित हुनुपर्छ ।


अन्त्यमा, थुप्रै राजनीतिक परिवर्तन भएर आज देश संघीय व्यवस्थामा गएको छ । राजनीतिक वृतमा नयाँ सोच भएका शक्तिहरुको उदय भएको छ । राष्ट्रियताको पनि निकै ठूलो वहस थालनी भएको छ । शिक्षा, स्वास्थ्य क्षेत्रको परिवर्तनका दस्तावेज तयार भइरहेका छन् । यसले के देखाएको छ भने व्यवहारगत ठोस कार्यान्वयनको बाटो खोल्न स्थानीय तहको सक्षमतामा भरपर्ने कुरामा दुई मत छैन ।

 

स्थानीय तहका जनप्रतिनिधिहरुको जवाफदेहिता र सफल कार्यान्वयनको योजना तर्जुमा गर्न स्थानीय शिक्षक तथा शिक्षाका सरोकारवालाहरुको व्यापक छलफल हुन जरुरी छ । अबको आवश्यकता भनेको राष्ट्रिय पुँजी निर्माणमा योगदान गर्न सक्ने खालको जनशक्ति विद्यालय तहबाटै उत्पादन गर्न शुरुवात गर्नु हो ।


(लेखक जनजागृति माध्यामिक विद्यालय वराहाताल ८ सुर्खेतमा अध्यापनरत छन् ।)

 

२०७४ चैत ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्