रुकुम, ६ चैत्र । नेकपा एमाले रुकुम (पश्चिम) स्थानीय तह विकास निर्माण समितिले मंगलबार सदरमुकाम मुसीकोटमा रुकुम पश्चिमको समग्र विकास र समृद्धिका बारेका जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायसँग अन्तरक्रिया सम्पन्न गरेको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा आगामी आर्थिक वर्षका लागि योजना तथा बजेट तर्जुमाको पूर्वसन्ध्यामा जिल्लाको समृद्धिका लागि के कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा सुझाव संकलन गरेर कार्यान्वयन गर्नका लागि उक्त अन्तक्र्रिया आयोजना गरिएको नेकपा एमाले रुकुमका सचिव हरिप्रसाद शर्माले बताए ।
कार्यक्रममा बोल्ने सहभागीहरुले भौतिक विकास र मानवीय विकासका क्षेत्रमा बृहत योजना बनाएर कार्यान्वयन गरेमा समृद्ध रुकुम बनाउन सकिने सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वय र सहकार्यमा जिल्लालाई समृद्ध बनाउने बताईन । केही कानून निर्माण नभईसकेको अवस्थामा अन्यौलता देखिएपनि ६ महिनादेखि १ वर्षको अवधिमा त्यो समस्या हल हुने उनको भनाई छ ।
त्यस्तै जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जिल्ला समन्वय समितिको अधिकार बढाउनुपर्ने बताए । समन्वय, सहजिकरण र अनुगमनको मात्र अधिकार दिएको त्यसमा पनि प्रक्रिया र विधि के हुने भन्ने स्पष्ट नभएकोले कम्तीमा पनि अनुगमनका साथै नियमनको अधिकार हुनुपर्ने, विज्ञ टोलीको व्यवस्था र क्षमता विकासका कार्यक्रम जिल्लाले सञ्चालन गर्दा प्रभावकारी हुने उनको भनाई थियो । त्यस्तै गरी नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीले प्राप्त सुझावहरुले आगामी वर्षको योजना तर्जुमा गर्दा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले शिक्षा र पूर्वाधारको विकास तथा सामाजिक न्यायमा जोड दिनुपर्ने बताए । शिक्षा क्षेत्रमा प्राविधिक तथा व्यवहारिक र पूर्वाधारको विकास न्यायोचित, दीगो र आवश्यकताका आधारमा हुनुपर्ने उनको भनाई थियो ।
नेकपा एमाले रुकुमका उपाध्यक्ष एवं स्थानीय तह विकास निर्माण विभागका प्रमुख ऋषिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुकुमका अध्यक्ष विमलकुमार पुन, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेकपा एमालेका भातृसंगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । राजनीतिक दलको तर्फबाट यसरी सुझाव संकलन गरिएको जिल्लामा पहिलो पटक भएको भन्दै प्राप्त सुझावलाई समेटेर विभिन्न तहका सरकारले योजना तर्जुमा गर्न समेत सहभागीले सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस्