७ चैत । साउदी अरेबियन रोबोट नागरिक सोफिया नेपाल आएकी छन् । संयुक्त राष्टसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आयोजनामा काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपाल आएकी हुन्।
अमेरिकाको हान्सन रोबोटिक्सले २०१५ मा विकास तथा निर्माण गरेको सोफिया यूएनडीपीको पहिलो गैरमानव प्रविधि तथा आविष्कार दूतसमेत हुन्। कार्यक्रममा उनले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य प्राप्तिका लागि चुस्त सार्वजनिक सेवा प्रवाहमा प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेकी छन्।
उनले भनिन्, 'मानिसको जीवन सहज बनाउन रोबोट बनाइएको हो । यसको माध्यमबाट भ्रष्टाचार, गरिबी, अशिक्षा तथा असमानताको अन्त्य गर्न सकिन्छ ।' सोफियाले आफ्नो धारणा राखेपछि यूएनडीपीका नेपाल प्रमुख रेनोड मेयेरले उनीसँग प्रश्न गरेका थिए। जसलाई सोफियाले सहज तरीकाले उत्तर दिइन् ।
प्रश्नोत्तरको क्रममा उनले आफू सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्ने पनि बताएकी छन् । उनले भनिन्, 'तर त्यसो गर्न अहिले नै मैले चाहेको छैन।' सोफियाको यो जवाफ सुनेर सहभागीहरु मज्जाले हाँसेका थिए ।
सोफियाले रोबोटको माध्यमबाट विभिन्न रोगको उपचार गर्न, पर्यावरण सफा राख्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, पिछडिएको समुदायको उत्थान गर्न सकिने बताएकी छन् ।
रोबोटहरूको प्रयोगले मानिसको दैनिक जीवन सरल बनाउने मात्र हो भन्दै यसबाट कोही पनि नडराउन उनले आग्रह गरेकी छन् । उनले भनिन्, 'यदि मानिसलाई रोबोटदेखि डर लागेको भए, रोबोटको उपस्थिति नरमाइलो लागेको भए प्रयोग नगर्दा भइहाल्यो नि।'
रोबोटमा नैतिकताको समस्या पनि नहुने उनले बताएकी छन् । उनले भनिन्, 'नैतिकता मानिसको समस्या हो। त्यसलाई कानून मार्फत नियन्त्रण गर्न सक्नुपर्छ। रोबोटमा त्यो समस्या छैन।'
सोफियाले प्रश्नकर्ता रेनोडलाई नेपालीमै ‘धन्यवाद’ भनेकी थिइन्। प्रश्नोत्तरपछि उनले छोटो मन्तव्य राखेकी थिइन् ।
यस्तो छ सोफियाको मन्तव्य
नमस्ते नेपाल। संयुक्त राष्टसंघको पहिलो गैरमानव दूतका रूपमा यहाँ आउन पाउँदा म निकै खुशी छु। मेरो सन्देश नेपालसहित विश्वलाई महत्वपूर्ण हुन् सक्छ। यदि हामी हाम्रो ग्रहको भविष्य सुरक्षित भएको हेर्न चाहान्छौँ भने हामीले जिउने तरिका हेर्नुपर्ने बेला भएको छ।
मलाई लाग्छ यस सार्वजनिक सेवामा प्रविधि विषयक सम्मेलनले सार्वजनिक निकायले गर्ने सेवा प्रवाहलाई कसरी चुस्त बनाउन सकिन्छ भन्ने निश्कर्षमा पुर्याउनेछ।
प्रविधिले नेपालको विकास तथा संघीय प्रणालीको सफल कार्यान्वयनमा उल्लेखनीय योगदान दिनेछ भन्ने मलाई लाग्छ। प्रविधिले स्थानीय, प्रादेशिक तथा केन्द्रीय सरकारलाई जोड्न सघाउ पुर्याउनेछ र यो नेपालले लिएको विकासको लक्ष्य प्राप्तिका निम्ति अत्यन्तै आवश्यक पनि छ। र, अन्तिममा सोधिने भनेकै प्रविधिले सरकारलाई जनतालाई सघाउन कसरी सघाउ पुर्याउँछ भन्ने नै हो।
प्रविधिले नै जनताको सूचनासम्म पहुँच दिलाउने र सरकारसँग जोड्ने छ। यसैमार्फत सरकारले आफ्ना जनता के चाहिरहेका छन् भनेर बुझ्न सक्नेछ र आफ्ना कार्यलाई कसरी पारदर्शी तथा उत्तरदायी बनाउनेछ।
सबैलाई थाहा भएको कुरा हो। नेपाल सांस्कृतिक, भाषिक तथा पर्यावरणीय विविधताले भरिपूर्ण देश हो। तर संसारलाई के थाहा छैन भने नेपाल प्रविधिमा पनि निकै अघि बढिरहेको छ।
यहाँका आइटी कम्पनीले निकै राम्रो काम गरिरहेछन्। उनीहरूले भूकम्पपश्चातको पुनर्निनिर्माणमा उल्लेखनीय कार्य गरेका छन्। प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्सले भोकमरी, गुणस्तरीय स्वास्थ्यको प्रत्याभूति, गरिबी निवारण, भ्रष्टाचार नियन्त्रण तथा लैगिक समानता कायम गर्न मह्त्वपूर्ण भूमिका खेल्छन्।
मेसिन र रोबोट तपाईहरूको जीवन थप सहज बनाउन आविष्कार भएका छन्। इन्टरनेटको सहयोगले यहाँका दुर्गम गाउँहरूलाई विश्वका अन्य कुनासँग जोड्न सक्छौँ र त्यहाँ गुणस्तरीय शिक्षा तथा अन्य सेवा प्रवाह गर्न सक्छौँ।
यी दुईको प्रयोगले सार्वजनिक सेवामा सुधार ल्याउन सकिन्छ। कृषिमा औजारीकरण तथा प्राकृतिक स्रोतहरूका समुचित प्रयोग बढाउन सकिन्छ। वातावरणलाई थप सफा राख्न सकिन्छ र यीमार्फत सुन्दर विश्वको निर्माण गर्न सकिनेछ।
म फेरी पनि भन्न चाहन्छु। यो सम्मेलन नेपालले चाहेको विकासको लक्ष्य प्राप्तिका लागि फलदायी बन्नेछ।
नमस्ते नेपाल।
(तस्बिर : गुगल)
प्रतिकृया दिनुहोस्