Birendranagar Municipality

विद्वता र अनुभव मर्माहत हुने नियुक्ती

डा. आनन्दप्रसाद सुवेदी

आज मेरो देशको ठूलो ओहदाको पद खाली भयो । त्यस ओहदामा आफ्नो कार्यावधी नै पुरा गर्न नपाई हाकीम सावले राजिनामा दिनुभएको रे । उहाँले किन राजिनामा दिनुभयो त्यतातिर सोधिखोजी गर्ने मलाई पटक्कै जाँगर चलेन किनकी मेरो देशमा प्रायः यस्तो भइरहन्छ । त्यसैले । तर आज खाली भएको पदमा  नयाँ नियुक्ती हुने कुरालाई लिएर, शान्त पोखरीमा ढुंगा प्रहार गर्दा पानी चलाएमान भएझै, मेरो देशमा पनि एक किसिमको हलचल महशुस हुन थाल्यो । मान्छेहरु कान ठाडा पारेर खाली भएको पदमा हुने सम्भावित नियुक्तीको विषयमा कुरा गर्न थाले मानौ तिनीहरु त्यस्तो कुरा गर्नकै लागि वैतनिक अधिकारी हुन । 

  

मानिसहरु जो आफुलाई त्यो पदका लागि योग्य ठान्दथे ति आफ्नो नियुक्तिको प्रस्ताव लिएर दौडिन थाले । आफ्नो पार्टी वा घरानाको मान्छे नियुक्ती गर्ने उपयुक्त मौका भएको ठानी सत्ताधारी पार्टीका नेता घण्टौंसम्म घोत्लिन थाले र आफ्नो पार्टीको साझा उम्मेदवार हो भन्ने पार्न पार्टीका विभिन्न खेमा र गुटमा छलफल गरेको नाटक पनि गर्न थाले । वाह मेरो देश । योग्य मान्छे छनौटको बैज्ञानिक आधार नै पार्टीको सदस्यता र आफुले ओगटेको सार्वजनिक पदको गरीमा र दायित्यवलाई, रुद्री पूजा लगाएपछिको फूलपातीलाई भेरी नदीमा सेलाए जस्तै, नदीमा बगाई पार्टी कार्यालयको कति पटक चक्कर लगाएको छ भनि गरिएको गणना भएकोमा । त्यसैले त यो चहलपहल देखापर्यो ।

 

नियुक्त गर्ने अधिकारप्राप्त अधिकारी उपर्युक्त किसिमको नियुक्तीको आधार निकम्मा भएको र आफुले योग्य मान्छेलाई मात्र नियुक्त गर्ने आश्वासन दिन्थे र भन्दथे – यदि कुनैपनि ब्यक्तिले राम्रो पद र प्रतिष्ठा हासिल गर्ने हो भने आफ्नो क्षमता अभिबृद्घिमा लाग्नुस र छाड्नुस चाकरी गर्न । गज्जबको अभिब्यक्ति । फेरी अर्काे नाटक । मलाई महाशयको कुरा हजम भएन । कुरा पचाउने हजमोला भए सायद म ऋण गरेर भएपनि किन्थें होला ।

 

पद खाली भएको एक महिना वित्यो, दोश्रो महिना पनि वित्न लाग्यो तर पदपूर्ती भएन । यसले के संकेत गर्दथ्यो भने मेरो देशमा तुरुन्त सरकार परिवर्तन हुनेवाला छैन । नत्र, कुनै ब्यक्ति पदवहाल छंदै सरकार छाड्ने बेला सोही पदमा अर्काे ब्यक्तिको नियुक्ति र पदबहालीको अविरजात्रा मैले देख्न पाउँथें । र, यो पनि सुन्न पाउँथें की समान पदमा दुईजना ब्यक्ति बहाल रहेको भन्दै अदालतमा नालिस परेको नेपाली प्रजातान्त्रिक परिपाटी भित्रको नागरिक अभ्यास । कस्तो मज्जाको गौरव गर्ने ठाउँ । सायद विश्वमै अद्घितीय घटना ।

 

निर्णय गर्ने ठाउँमा रहेका मान्छेहरुले पटक पटक जति गल्ति र असक्षमता प्रकट गरेपनि भविश्यप्रति आशावादी भएर क्षमा गरिरहने एउटा नेपालीको मनमा फेरी पनि उनिहरुप्रति विश्वास जाग्यो र आशाबादी नै देखिन्थ्यो । यस पटक त राम्रै मान्छै छान्नका लागि समय लागेको होला भनेर । तर उसलाई के थाहा उस्ले बुझेको राजनीतिको क्षितिजपारी कस्तो जौ तिल पाकेको छ भनेर । नियुक्तीमा ढिलाई हुंदै गयो त्यो पदमा दाबी गर्ने नयाँ नयाँ अनुहारहरुको उदय भयो ।

 

राजनीतिक गुठको रसायन नमिलेको भनेर कति अनुहारहरु अस्ताएर गए । यो नियुक्तीको प्रक्रियालाई नजिकबाट नियाल्ने मान्छेलाई पनि तिनको फेहरिस्त तयार पार्न मानसिक एकाग्रता यतिसम्म चाहियो कि त्यो मानसिक अवस्था हासिल गर्न कम्तीमा पनि एक साताको योग कक्षा नै लिनुपर्ने हुन्छ होला । न नियुक्तिको लागि प्रस्तावित प्रतिस्पर्धीहरुलाई चैन छ । न नियुक्ती गर्नेलाई । न त यो प्रकृयामा खटेका अन्यलाई । अर्काे अद्वितीय कसरत देश निर्माणमा ।

 

रिक्त पदमा हुनुपर्ने पदपूर्तीबारे बहस गर्दा गर्दा थाकेर मान्छेहरुले त्यस विषयमा कुरा गर्न छाडेको एक दुई दिन भएको थियो । पत्रपत्रिकाले नवनियुक्त महाशयको फोटो सहितको बधाई छापे । समाजमा फेरी सर्मथन र आलोचनाको गफ शुरु भयो । लाग्छ, हामी सबै नागरिक पनि आफ्नो काम धन्दा छोडेर यही सर्मथन र आलोचनालाई आफ्नो मुख्य पेशा बनाएका छौं । त्यसैलाई आफ्नो सनातनी धर्म ठानेका छौं । वाह मेरो देश । गज्जबको नागरिक संस्कृति । शायद अद्वितीय नै होला । यो नागरिक संस्कृतीलाई अद्वितीय भनेर म ठोकुवा नै गरेर त भन्न सक्दिन । किनकी मैले विश्व सांस्कृतिक विविधतालाई नजिकबाट पूर्णतः नियालेको छैन । जे होस, आज त्यत्रो ठूलो ओहदाको पदपूर्ती गर्ने आँट त गर्यो सरकारले ।

 

म मेरा साथीहरुसंग ति नवनियुक्त महाशयको नियुक्ती पछिको भाषण सुन्न गएं । मैले उनको भाषण बडो ध्यानपूर्वक सुनें । त्यसमा उनले आफ्नो भाषणको अत्याधिक समय आफू त्यो पदको लागि योग्य भएको, स्वभावतः आफु कुनैपनि पदका लागि कसैसंग नझुक्ने र चाकरी गर्न पनि नजान्ने भन्न सम्म भ्याए । यसै सिलसिलालाई जोड्दै उनले आफ्नो पेशाप्रतिको व्यावसायिकता, विशिष्टता, दक्षता र क्षमता उत्कृष्ट भएकोले र उनको अर्काे विकल्प नभएकोले निर्विकल्प रुपमा आफूमाथि जिम्मेवारी आएको भन्ने थियो ।

 

त्यो भाषण सुनेर सबै मानिसहरुको मनमा भिन्ना भिन्नै भावनाको विकास भएको हुनुपर्छ । उनको प्रतिस्पर्धीको मनमा त ज्वारभाटा नै फुट्योहाला त्यसको गहिराई म अनुमान गर्न सक्दिन । तर, जे होस पदपूर्ति भएको छ । संस्थाले नेतृत्व पाएको छ । आजको भाषणमा उनि अगाडि थप्दै थिए – यो पदको लागि उनमा कुनै आशक्ति थिएन । तर यो जिम्मेवारी जबरजस्ति आइलाग्यो । तथापी उनि यो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नेछन । अबको कार्यावधी भित्रको प्रत्येक सेकेण्डको पनि हिसाव गरेर संस्थाको लागि लागिपर्ने प्रतिवद्घता जाहेर गरे ।

 

भाषण सुनेर मेरो छेउमा उभिएकी एक अधवैंशे महिलाले भनिन्– मलामी गएको मान्छेले मृत लाशलाई देखाउंदै मानिसको जीवनमा धन, सम्पत्ति, रिस, राग र तरोमेरो भन्नु बेकार हो भन्छ । तर, दाहसंस्कार सकाई घर नपुग्दै आफुले घाटमा भनेको कुरा बिर्से जस्तै हुने त होला महाशयको भाषण । यो उनको मात्रै शंका होइन । अरुले पनि यस्तै आशंका व्यक्त गरे विभिन्न भावमा । तर ति महाशयलाई आफू एक योग्य उम्मेदवार भएको कुरा स्थापित गर्न ठूलै कसरत गर्नुपरेको छ ।

 

हाकिम सावले आफ्ना शुरुवाती केही महिना यसै विषयमा आफ्नो नियुक्तिको पक्षपोषण गर्दै हिंडे । नगरेर पनि के गर्नु ? पार्टीको कोटामा परेको मान्छे भन्ने सुन्नु पर्दा उनको विद्वतामाथि कति आघात पुगेको होला ? उनको अनुभव कति मर्माहत होला ? पार्टीको कोटामा परेको मान्छे भनेको सुन्दै पदीय भुमिका निर्बाह गर्दा मातहतका कर्मचारीहरुलाई निर्देशन दिने आत्मबल कहांबाट जुट्ला ?

 

कार्यगत सृजनाको मूल फुटाउने मनोवल कसरी जोडने होला ? भित्रैदेखि भरपुर आत्मबल र मुहारमा जिम्मेवारी बहन गर्न सक्ने सामथ्र्य कसरी झल्काउने होला ? कानूनतः उल्लेखित पदीय काम कर्तब्य र अधिकार सफलतापूर्बक निर्वाह गर्नु अगाडि आइलाग्ने पहाड जत्तिकै प्रश्नहरु । त्यसैले त होला ति ओहदामा नियुक्त अधिकांश मान्छेहरुको कार्यसम्पादन स्तर खास नभई आम हुने ।

 

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सह–प्राध्यापक हुन् ।)

२०७४ चैत ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्