९ चैत । काठमाडौंका श्याम मानन्धर १६ वर्ष अघि सुर्खेत आउँदा विद्यालयमा बास बसेका थिए । ६ वर्ष अघि एक सय २० जनाको समूह आउँदा वीरेन्द्रनगरमा रहेको महिला प्रशिक्षण केन्द्रमा बस्यो । यस पटक ६ वटा गाडीमा दुई सय जना आउँदा बुलबुले उद्यानको खाली चौरमा खाना पकाएर खाए । होटलमा बास बसे । धर्मशाला बनेको हेर्ने रहर अधुरै रह्यो ।
‘सुर्खेत आउने भने पछि मैले धर्मशाला बनेको छ कि भनेर बुझें । नबनेको सूचना पाएपछि जुम्ला रोडमा ५ वटा होटल बुक ग¥यौं’ मानन्धरले सेरोफेरोसंग भने । ‘श्री करुणामय पूजा सेवा खलः’ को आयोजनामा बिहिबार काँक्रेबिहारमा बुद्ध पुजा गर्न आएका श्रद्धालुहरुले प्रदेशको राजधानी समेत रहेको शहरमा एउटा पनि धर्मशाला नभएकोमा चिन्ता व्यक्त गरे ।
बुद्ध धर्मको बज्रयान सम्प्रदाय काठमाडौंका नेवार समूदायमा लिच्छिविकालिन समयदेखि कायम छ । बज्रयान धर्म गुरु शान्तरत्न बज्राचार्यका अनुसार ३५ वर्ष देखि करुणामय पूजा सेवा मासिक रुपमा हुने गरेको र वर्षमा एक पटक काठमाडौं बाहिरको स्थानमा गइ पूजा गर्ने गरिन्छ ।
काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेबाट संयुक्त रुपमा आएका ती श्रद्धालुहरु लुम्बिनी हुदै सुर्खेतमा पूजा गरी दाङ्गको बेलझुण्डी स्थित संस्कृत विश्व विद्यालयमा रहेको चैत्यमा पुजा गर्न जाने पनि गुरु बज्राचार्यले बताए । नेपालको मौलिक बुद्ध धर्म अन्तर्गत बौद्ध विहार, चैत्य र करुणामयको पूजा गरिन्छ ।
यस्तै करिब १० वटा समूहलाई सुर्खेतमा घुमाएका समाजसेवी जीवन शाक्यले धर्मशाला अपरिहार्य भएको धारणा राखे । उनले भने, ‘मैले धेरै पटक धर्मशालाको लागि कुरा गरिसकेको छु । बुलबुले, देउती बज्यै, कांक्रेबिहार लगाएतका पर्यटकीय स्थलमा आउने पर्यटकहरुलाई सहज होस भन्नका लागि पनि धर्मशाला अत्यावश्यक छ ।’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेतले सुर्खेतमा धर्मशालाको अवधारणा नै नभएको बताउँछन् । उनले सेरोफेरोसंग भने, 'किफायती र कम खर्चमा घुम्न आउनेलाई धर्मशालाको व्यवस्था हुनुपर्छ ।'
खासगरी तीर्थाटनका लागि आउने धार्मिक पर्यटकका लागि धर्मशालाको स्थापना गरिएको हुन्छ । तर कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतमा ठूलो संख्यामा आउने बास बस्ने पर्यटकका लागि न होटलले धान्न सक्छ न त धर्मशाला नै छ । बस्नेतले भने, 'यसमा प्रदेश सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।'
प्रतिकृया दिनुहोस्