Birendranagar Municipality

नेपालको सामाजिक प्रवन्धलाई कम नआँक्न प्रधानमन्त्री ओलीको चेतावनी

सेरोफेरो/काठमाडौं
नेपालको सामाजिक प्रवन्धलाई कम नआँक्न प्रधानमन्त्री ओलीको चेतावनी

११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम आँक्न नहुने बताएका छन् ।

 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले तयार पारेको प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

 

ओलीले युरोपेली आयोगको निर्वाचन पर्यवेक्षण प्रतिवेदन तत्काल सच्याउन समेत आग्रह गरेका छन् । ‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन् जिद्धी गरे जस्तो छ ’ प्रधानमन्त्री ओलीले भने ‘म फेरी आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्बिचार गर्नुहोस ।’

 

प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले पर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताएका छन् ।

 

नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका नगर्न पनि उनले सबैलाई सुझाएका छन् । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ उनले भने ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १/२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन् ?’

 

नेपालीलाई गरिब भनेर हेप्न र जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेका छन् । ‘नेपालमा मतदाता सचेत छन् । ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखाउँदै मतदान गरे ।’

 

निर्वाचन आयोगलाई सशक्तिकरण गर्न आवश्यक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आयोगको विश्वसनीयता बढाउन निष्पक्ष भूमिकामा पनि जोड दिनुपर्ने उनले बताए । उनले भने, ‘कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम ग¥यो । यस्ता काम भविष्यमा दोहोरिनु हुदैन ।’

२०७४ चैत ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्