१६ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुलबुले उद्यानमा बन्दै गरेको पर्खालको जग भत्काएका छन् । शहरी विकास मन्त्रालयले उद्यानको संरक्षणको लागि बनाउँदै गरेको पर्खालको जग गुणस्तरहीन भएको भन्दै उनले भत्काएका हुन् ।
भवन डिभिजन कार्यालयले करीब ५ करोडको लगानीमा बुलबुले उद्यानको ३१ बिगाहा क्षेत्रफल वरिपरी पर्खाल निर्माण गर्दैछ । उक्त बन्दै गरेको पर्खालको जग गुणस्तरहीन भएको भन्दै कार्यालयले यसअघि दुईपटक भत्काइसकेको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोइरालाले बताए ।
उनले भने, ‘यसअघि पनि भवन आवास कार्यालयले गुणस्तरहीन सामाग्री प्रयोग गरेको भन्दै पर्खाल भत्काएको हो । यसमा सम्वद्ध ठेकेदार विवेक थापाको कमजोरी देखिन्छ ।’ ठेकेदारलाई पटक पटक सम्झाइएको पनि कोइरालाले बताए । उनले भने, 'अब पनि यस्तै गतिविधि दोहोर्याए कारवाही गर्छौं ।'
कोइरालाका अनुसार पर्खाल निर्माणको काम शुरु भएको ५ महिना बितिसक्यो । बहुवर्षीय योजना अनुरुप आगामि १९ महिना सम्म काम सम्पन्न गरिसक्नुपर्छ । नगर विकास समितिले पटक पटक कामको अनुगमन गर्दै आएको कोइरालाको भनाई छ ।
ठेकेदार विवेक थापालाई पटक पटक फोन गर्दा समेत सम्पर्कमा आएनन् ।
कर्णाली प्रदेश सरकारको दोस्रो मन्त्रीपरिषद बैठकले महिनाको १ र १५ गते अनिवार्य श्रम गर्ने निर्णय यसअघिनै गरेको थियो । सोही कार्यक्रम अनुरुप सरसफाई तथा अनुगमनका लागि बिहिबार बुलबुले उद्यान पुगेका मन्त्री शाहीले पर्खालको जग भत्काएका थिए ।
सरसफाई अभियानमा कर्णाली प्रदेशका ७ वटै मन्त्री तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरुले बुलबुले तालको जलकुम्भी निकाल्नुका साथै उद्यानको सरसफाई गरेका थिए ।
प्रतिकृया दिनुहोस्