Birendranagar Municipality

रुँदा रुँदा फुटे आँखा

रुँदा रुँदा फुटे आँखा

सेरोफेरो 

२९ बैशाख, बर्दिया- म भीमबहाहुर शाही । ७२ वर्षको भएँ । २८ सालमा दैलेखबाट सुर्खेत झरेको । ४५ सालमा सुर्खेत छोडेर बर्दिया । दुई छोरी एक छोरा हुन् मेरा । छोरालाई सरकारी सेनाले बेपत्ता पारे । पात खस्र्याक्क हुँदा पनि छोरो आयो कि झैं हुन्छ ।

 

छोराको नाम बमबहादुर शाही हो । जन्म ३५ साल । मजदुरी गरेर परिवार पाल्थ्यो । कालापहाडबाट आएको १२ दिनमा सेनाले लिएर गयो । २०५९ साल जेठ ९ गते रातिको कुरा हो । हामी सबै सुतेका थियौं । त्यसपछि अत्तो पत्तो छैन ।


गर्मीको समय भएकाले हामी बाहिरै आँगनमा सुतेका थियौं । आर्मीको पाँचवटा गाडी रोकिए । त्यसपछि आर्मी माथि गाउँतिर गए । उनीहरु आफ्ना काममा आए भन्ने ठानेर त्यति वास्ता गरेनौं । डराउनु पर्ने केही कारण पनि थिएन । छोरा माथि गाउँ (खैरेनी टोल) को घरमा परिवारसंग थियो । हामी बुढाबुढी पसल कुर्न तल सुत्थ्यौं ।


विहानको चार बजेको थियो । आधा आर्मीहरु पूर्व लागे आधा पश्चिम । त्यसको केही छिनमै कान्छी छोरी आई र भनी– ‘दाईलाई आर्मीले लगे हामीलाइ बोल्न दिएनन् । हिरासिङ बाँठालाई पनि ल्याएका छन् । उनलाई पिटेर हाम्रो आँगनमा रग्ताम्य छ ।’


खैरेनी टोलबाट दुई र मनपुरबाट तीन गरी एउटै रात माछागढबाट पाँच जनालाई लगे । जसमध्ये मेरो छोरा र हिरासिङ पनि हुन् । अहिलेसम्म कसैको पनि खबर छैन । छोरी र बुहारीले आर्मीलाई किन लैजाने? भन्दा ‘भाले बास्ने ठाउँमा पोथी बास्न पाईंदैन’ भनेर बोल्नै दिएनछन् । वेपत्ता बनाउनुको कारण पनि थाहा छैन । खै किन लगे ?


छोराको यादमा रुँदा रुँदा त्यसैसाल कार्तिकमा आँखा फुटे । श्रीमती वितेको पनि पाँच वर्ष भयो । फोक्सोमा समस्या थियो । छोराकै पीरले गयो उसको ज्यान । छोरा आर्मीले खाए । बुहारी पोईल गई । आफ्ना आँखा फुटे । श्रीमती मरी । छोराबाट तीन वटी नातिनी छन् । नातिनीको विहेपछि मेरो कोहि पनि हुँदैन ।

2

सेना त दुश्मन हो । मेरो सहारा खोस्यो । राति निन्द्रा लाग्दैन । दिनमा भोक लाग्दैन । लाश नआउँदासम्म आश लाग्दो रहेछ । धेरै समय त यो बाटोमा गाडीको आवाज आउँदा पनि छोरा आयो कि? ओर्लंदै छ कि? बा म आएं । भन्छ कि झैँ लाग्थ्यो । कुनै नौलो मान्छेको आवाज आउँदा पनि ध्यान दिएर सुन्थें । कठै ! आएन । काजक्रिया पनि गर्न पाइएन ।


माओवादी थियो कि थिएन मलाई थाहा छैन । छोरो बेपत्ता पारेपछि सेना फर्की आएन । माओवादी झन् किन आउँथ्यो ? कुनै कार्यक्रममा बोलाउँदैनन् । कोही सम्झाउन पनि आएका छैनन् । उसकै कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । घाउ बल्झाउन मात्रै आउँछन् ।

3

सबैभन्दा ठूलो कुरा आँखा रहेछ । आँखा छैन त संसार नै छैन । कहीं जान पनि सक्दिन । मेरो घरमा को आओस ? आँखा देख्ने भए छोरासंग अनुहार मिल्ने मान्छेलाई हेरेर भएपनि अत्यास मेटाउथें होला । आवाज मिल्ने कसैलाई भेटेको छैन । को आउला मेरो सामुन्ने उसको याद मेटाउने ?


चार कठ्ठा जग्गा छ । नातिनीहरुको बिहे गर्ने बेला हुन लाग्यो । कसरी धान्ने हो घर व्यवहार ? सम्झँदा पनि उकुसमुकुस लाग्छ । नानीहरुको पढाइ खर्च कान्छी छोरीले बेहोरेकी छ । कान्छीको गुलरिया तुल्सीपुरमा बिहे भएको हो । अहिले ऊ साउदी छ । मैले पोहोर कात्र्तिकबाट वृद्धभत्ता खान्छु ।


नातिनीहरु आर्मीको ड्रेस लगाएको मानिसलाई देख्दा रिस उठ्छ भन्छन् । ‘बुवालाई बेपत्ता पार्नेहरुलाई मार्न मन लाग्छ रे !’ को छ हामीलाई न्याय दिने ?

 

२०७४ बैशाख २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्