१७ चैत । कर्णाली प्रदेशको प्रदेशसभामा ५० प्रतिशत सांसदको उपस्थिति भए मात्र बैठक बस्ने भएको छ । शुक्रबार पारित प्रदेश नियमावली अनुरुप बैठक बस्न ५० प्रतिशत सांसदको अनिवार्य उपस्थिति आवश्यक पर्छ ।
मस्यौदा समितिका संयोजक सीता नेपालीका अनुसार सांसद संख्या थोरै भएकोले ५० प्रतिशतको व्यवस्था गरिएको हो । सामान्यतया एक चौथाई संख्यालाई गणपुरक मानिन्छ ।
यस्तै प्रदेशसभा नियमावली मस्यौदा समितिले कर्णाली प्रदेशको लोगोका लागि आधारहरु तय गरेको छ । नयाँ बन्ने लोगोमा प्रदेशको नक्सालाई हत्केलाले उठाएको, त्यसको ठीक माथिपट्टी राष्ट्रिय झण्डा र तल्लो भागमा कर्णाली प्रदेश सभा सदस्य उल्लेख हुनेछ ।
नियमावली अनुसार प्रदेश संसदमा विधायक तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी चार समिति रहने व्यवस्था गरिएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक संसदमा पेश गरेका छन् ।कर्णाली प्रदेश सभामा पेश भएको यो नै पहिलो विधेयक हो । विधेयक पास भएपछि बजेट ल्याउन र सरकारका आर्थिक काम कारबाही अघि बढाउन बाटो खुल्नेछ ।
प्रतिकृया दिनुहोस्