Birendranagar Municipality

'नजिकबाट हेर्दा पनि दाग नदेखियोस'

सेरोफेरो/काठमाडौं
'नजिकबाट हेर्दा पनि दाग नदेखियोस'

१७ चैत । प्रधानमन्त्री केपी ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन दिएका छन् ।

 

भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै उनले भने, 'तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस ।' गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार ओलीले उक्त कुरा बताएका हुन् । 

 

प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वलाई जनताको अधिकार जनताले महसुस गर्न पाएका छन् कि छैनन् भन्नेमा चनाखो हुन सुझाव दिए । उनले भने, 'हामीले सरकारका अधिकारको बाँडफाँटको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ । स्थानीय तह सफल भए मात्र देश सफल हुन्छ ।'

 

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको ओलीको भनाई थियो । 'अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० बर्ष भन्दा मुनिका र एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समूहका छन्', उनले भने- '४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा पनि स्थनीय तहको विकास नभए कहिले होला ?'

 

ओलीले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने जनाए । उनले स्थानीय सरकारलाई पूर्वाधार विकास, विद्युत्, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा प्राथमिकताका साथ लाग्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

२०७४ चैत १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्