Birendranagar Municipality

रेशम मार्गमा जोडियो नेपाल : के पाउँछ नेपालले ?

सेरोफेरो
२९ बैशाख, काठमाडौं । नेपालले वान बेल्ट वान रोड (ओवर) अवधारणामा हस्ताक्षर गरेको छ । शुक्रबार परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकरदास बैरागी र चिनियाँ राजदुत यु होङले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।


समझदारीपत्रमा हस्ताक्षर पश्चात् मन्त्री महतले भने– ‘यो सम्झौताले नेपाल र चीनलाई सडक सञ्जालले जोड्नेछ । जसको माध्यामबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।’


सचिव बैरागीले आयोजनाबाट नेपाल लाभान्वित हुने बताए । उनले भने– ‘यो नेपालको विकास प्रकृयाको महत्वपूर्ण उपलब्धी हो ।’ चिनियाँ राजदुत यु होङले समझदारी पत्रको तयारीदेखि हस्ताक्षर सम्म पहल गर्ने परराष्ट्र मन्त्रालयलाई धन्यबाद ज्ञापन गरिन् ।


तर जानकारहरु समझदारी पत्रमा हस्ताक्षर गर्दैमा नेपाल यस आयोजनाबाट लाभान्वित भैहाल्ने कुरामा निश्चिन्त हुन नसकिने बताउँछन् । नेपालले आयोजनाबाट कसरी, के, कति फाइदा लिन सक्छ भन्ने कुरा विषयगत सम्झौताहरुले निर्धारण गर्नेछ ।


ओवर चीनलाई युरोप र एशियाका मुलुकहरुबीच जोड्ने चिनियाँ विकासको रणनीति हो । राष्ट्रपति सी जिनपिङले प्रस्ताव गरेको यस आयोजनाले सञ्जाल र सहकार्यलाई जोड दिएको छ । जसमा सडक र सामुन्द्रिक मार्गले देशहरुलाई जोड्ने महत्वाकाँक्षी योजना रहेको छ । ओवरमा हालसम्म ६७ देश सहभागी भएका छन् ।


ओवर प्राचीन समयमा युरोप र एशियाका देशहरुबीच साँस्कृतिक आदानप्रदान र व्यापारका लागि निर्माण गरिएको रेशम मार्गको विस्तारित रुप हो ।

 

२०७४ बैशाख २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्