१८ चैत्र । सल्यानमा आगामी बैशाख १ गते देखी आर्थिक गणना गरिने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापहरुको स्थिति पत्ता लगाउन आर्थिक गणना गरिने भएको हो । आर्थिक गणनाको लागी जिल्लाको सदरमुकाम खलंगामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर काम गर्न शुरु गरिएको छ ।
चैत्र १ गते देखि ब्यवस्थापकिय काम शुरु गरेको कार्यालयले २०७५ साल असार मसान्तमा आर्थिक गणना गरेर सक्ने छ । कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोवार गर्ने वाहेक सम्पूर्ण ब्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्ने जिल्ला आर्थिक गणना अधिकृत ठाकुर प्रसाद लामिछानेले जानकारी दिए । उनले बैशाख १ देखी गणकहरु फिल्डमा खटाउने गरी तयारी गरिएको जानकारी दिए । ‘यसमा ब्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोवार विवरण, ऋणमा पहुँच, तथा कारोवार सम्बन्धी विवरण संकलन गरिने छ’— उनले भने ।
पहिलो पटक देशैभर एकै साथ संचालन गर्न थालिएको आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले अर्थतन्त्र र आर्थिक एकाईहरुको आकार, प्रकार, संरचना, रोजगारी, लगायतका नीति निर्माणका लागी आवश्यक पर्ने विवरणहरु तथा आधारभूत सुचकहरु एकै साथ उपलब्ध हुने गरी केन्द्रिय तथ्यांक विभाग मार्फत सरकारले राष्ट्रिय आर्थिक गणना २०७५ संचालन गर्न लागेको हो ।
प्रतिकृया दिनुहोस्