सेरोफेरो
३० बैशाख, सुर्खेत । गुराँस गाउँपालिका–६ दैलेखका २४ बर्षीय दान बहादुर खत्री भन्छन्– 'म पहिलो पटक निर्वाचनमा भाग लिंदैछु । मलाई यसरी मतदान गर्ने भन्ने सम्बन्धमा कसैले केही सिकाएको छैन ।'
वीरेन्द्रनगर नगरपालिका १० की तुलसी विककहाँ पनि मतदाता शिक्षा कार्यक्रम लिएर यसपटक कोही पुगेन । घरपरिवारका अन्य सदस्यले उनलाई भोट हाल्न त सिकाएका छन् तर यसपटकको मतपत्र अलि अप्ठेरो भएको उनी बताउँछिन् ।
मतदाता शिक्षा पाएका वीनपा १५ का जीत बहादुर वली पनि मत हाल्न जटिल भएको बताउँछन् । उनले भने– यसअघि पनि मैले मतदान गरेको छु तर यसपटक सात ठाउँमा भोट हाल्नुपर्ने भएकोले झुक्किन सकिन्छ ।
निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रम त्यति प्रभावकारी हुन नसकेको उनीहरुको गुनासो छ । आयोगका स्वयंसेवकहरु घरघरमा गएर भोट हाल्ने तरीकाबारे नसिकाएको पाइयो ।
निर्वाचन आयोगले तयार पारेको श्रव्य दृश्य सामग्रीबाट धेरैजसो लाभान्वित भएका छन् । तर टेलिभिजन र इन्टरनेटको पहुँचबाहिर रहेका ग्रामीण भेगका जनताहरु अझै अन्यौलमा रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा भोट कसरी हाल्ने भन्नेबारे धेरैजसोमा अन्यौलता कायमै छ । सेरोफेरोको सर्वेक्षणमा धेरैजसो मतदाता मतदान कसरी गर्ने भन्नेबारे जानकार छैनन् । नयाँ संविधानमा व्यवस्था भएअनुरुप संघीयताको अभ्यास गर्ने क्रममा मुलुकमै पहिलो पटक स्थानीय तहको निर्वाचन हुँदैछ ।
दुई चरणमा हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश ३, ४ र ६ मा बैशाख ३१ गते हुँदैछ ।
मतदान गर्ने दिन नजिकिंदै जाँदा दलहरुले जनतासंग आ–आफ्नो पक्षमा मत मागेका छन् । तर उनीहरुले मागेको मत धेरैजसो बदर हुने संभावना छ ।
यस्तो छ मतपत्रको नमूना :

कसरी हाल्ने भोट?
यसपटक एक जना मतदाताले सातवटा मत दिनुपर्नेछ ।
पहिलो ठाडो लाइनमा रहेका चिन्हहरुमध्ये मेयर/अध्यक्षलाई एक ठाउँमा स्वस्तिक चिन्हले मतसंकेत गर्ने ।
दोस्रो ठाडो लाइनमा रहेका चिन्हहरुमध्ये उपमेयर/उपाध्यक्षलाई एक ठाउँमा स्वस्तिक चिन्हले मतसंकेत गर्ने ।
तेस्रो ठाडो लाइनमा रहेका चिन्हहरुमध्ये वडा अध्यक्षलाई एक ठाउँमा स्वस्तिक चिन्हले मतसंकेत गर्ने ।
चौथो ठाडो लाइनमा रहेका चिन्हहरुमध्ये महिला वडा सदस्यलाई एक ठाउँमा स्वस्तिक चिन्हले मतसंकेत गर्ने ।
पाँचौं ठाडो लाइनमा रहेका चिन्हहरुमध्ये दलित महिला वडा सदस्यलाई एक ठाउँमा स्वस्तिक चिन्हले मतसंकेत गर्ने ।
छैठौं र सातौं ठाडो लाइनमा रहेका चिन्हहरुमध्ये अन्य दुई जना वडा सदस्यलाई कुनै दुई ठाउँमा स्वस्तिक चिन्हले मतसंकेत गर्ने ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्