Birendranagar Municipality

राष्ट्रपतिको सन्देश : निर्वाचन सफल पार्नुस् !

राष्ट्रपतिको सन्देश : निर्वाचन सफल पार्नुस् !

सेरोफेरो
३० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आव्हान् गरेकी छन् । आम मतदाताको नाममा राष्ट्रपतिको कार्यालयबाट उक्त सन्देशमा जारी गरिएको हो ।


सन्देशमा भनिएको छ– ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भएपश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त दाजुभाई, दिदिबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आव्हान गर्दछु ।’


जननिर्मित संविधान जारी भएपश्चात् यो पहिलो निर्वाचन हो । संविधान कार्यान्वयनका दृष्टिले पनि यो निर्वाचन अत्यन्त महत्वपूर्ण खुट्किलो हो । सन्देशमा भनिएको छ– ‘यस निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक समृद्धिको ढोका खोल्नेछ भन्ने मलाई विश्वास छ ।’


लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उत्साह र उमंगका साथ सहभागी हुन पनि उनले सबै मतदातालाई अनुरोध गरेकी छन् ।


राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणमा शुक्रबार श्रीलंका गएकी छन् । उनले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने निर्णय यसअघिनै गरेकी हुन् ।

Bidhya-Bhandari

२०७४ बैशाख ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्