Birendranagar Municipality

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

सेरोफेरो
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम पारित

१२ बैशाख । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सर्वसहमतिवाट पारित भएको छ । सोमवार प्रदेश प्रमुखवाट जारी गरिएको कार्यक्रम उपर मंगलवार र बुधवार सांसदहरुले सुझाव दिएका छन् । बुधवार बसेको १५ औं प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदहरुको प्रश्नको जवाफ दिएका छन् ।


मुख्यमन्त्री शाहीले घरदैलोमै जनताको समस्या सम्वोधन गर्न संघीयता आवश्यक भएको बताउदै जनतालाई नजीकवाट राज्यको सेवा प्रदान गर्नुपर्ने बताए । शाहीले दक्षिणवाट जमुनाहा–हिल्सा सुरुंङ्ग मार्ग, उत्तरवाट डोल्पा, मुगु र हुम्लावाट तिनवटा नाका खोलेर कर्णालीको विकासलाई अगाडि वढाईने बताए । कर्णाली प्रदेशको भेरी करिडोर र कर्णाली करिडोरलाई राष्ट्रिय गौरवका आयोजनाको हवका रुपमा विकास गर्न संघीय सरकारसंग समन्वय अगाडि वढाईएको जानकारी दिए ।


दशवटै जिल्लाका पर्यटकीय क्षेत्रको विकास गरि कर्णाली प्रदेशलाई विश्वकै पर्यटनको केन्द्र बनाउने पनि सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।


कृषि क्षेत्रको विकासका लागि सहकारी मार्फत पशुपालन, तरकारी, फलफुल र अन्नवालीलाई व्यवसायीक बनाउदै रैथाने वालीको संरक्षण एवं प्रवद्र्धन गर्ने र कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने पनि सरकारको प्राथमिकतामा रहेको समेत उनले सदनलाई जानकारी गराए ।


प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनि मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राखेको प्रस्ताव सभामुख राजवहादुर शाहीद्वारा निर्णयार्थ प्रस्तुत भएको थियो । प्रस्तावको विपक्षमा कुनै पनि सांसद देखिएनन् ।

 

२०७५ बैशाख १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्