१५ बैशाख । २६४२ औ बुद्ध जयन्ती सुर्खेतमा आजबाट ३ दिन मनाउन वीरेन्द्रनगर बुद्धपथ स्थित निर्माण गर्ने बुद्ध सरोवरबाट शुरु गरिएको छ । धर्मोदय सभा सुर्खेत शाखाको आयोजनामा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेत र नेपाल अहिंसाबादी बौद्ध धर्म चक्र संघ नवलपरासीको समन्वयमा ३ दिन सम्म बुद्ध जयन्ती मनाउन लागिएको हो ।
आजको उद्घाटन कार्यक्रममा विशेष अतिथि नेपाल अहिंसावादी बौद्ध धर्म चक्र संघका प्रेम दोर्जेले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा २०६९ सालमा काँक्रेविहारमा स्थापना गर्न लागेको गौतम बुद्धको प्रतिमालाई सरकारले जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रागंण मा राखेर भूल गरेको आरोप लगाए। बुद्धले के गल्ति गरेर रुखमा चोर झैं बाँधेको भन्ने प्रश्न गर्दै दोर्जेले प्रशासनको अगाडी झुण्ड्याइनु ठूलो अपराध भएको जिकिर गरे । उनले बुद्धको मुर्तिको तत्काल ब्यबस्थापन गर्न माग गरे ।
कार्यक्रमका मुख्य अतिथि कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले बुद्ध सरोबर निर्माणकालागि आगामी बजेटमा आफ्नो मन्त्रालयबाट र प्रदेश सरकारका तर्फबाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ सुर्खेत अध्यक्ष पञ्चसिंह रोकायले बौद्ध सरोवर निर्माणकालागि यो सुर्खेतका प्रत्येक जनताले आफ्नो खाजा खर्चबाट १ सय रुपैया मात्र दान गर्न सके सरोवर चाँडै नै बनेर प्रदेशको पर्यटक प्रवर्धनमा टेवा पुग्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधी वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनालले काँक्रेविहारमा बुद्ध मुर्ती स्थापना गर्नकालागि सहज परिस्थितिको निर्माण गरेर राख्न सकिने र सरोवर निर्माणकालागि नगरपालिका कुरा उठाएर यस्कालागि पहल थाल्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका उपाध्यक्ष जीवनकुमार शाक्यले हाल सम्म नेपालमा बुद्धको महा परिनिर्वाण बर्ष २५६२ मनाउँदै आएकोमा अब सुर्खेत देखि लुम्विनी बर्ष २६४२ औ मनाउन लागिएको जानकारी दिए ।
कार्यक्रममा बौद्ध भन्ते विशाल ज्ञानले पञ्चशिल पाठ गरायका थिए । यसैगरी लामा गुर रिम्पोन्छे धुण्डुप, नेपाल मगर संघका अध्यक्ष डिलबहादुर बंशी, नेपाल आदिवासी जनजाती महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटले आआफ्नो मन्तब्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्