Birendranagar Municipality

विकासका लागि अरुको मुख ताक्ने होइन, आफै लाग्नु पर्छ : मुख्य मन्त्री

सेरोफेरो
विकासका लागि अरुको मुख ताक्ने होइन, आफै लाग्नु पर्छ : मुख्य मन्त्री

१५ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने बताएका छन् । आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने बताए ।


कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडार्क) ले शनिवार सुर्खेतमा आयोजना गरेको कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विदेशीका कारण कर्णालीको विकास भएन भन्ने धारणा हटाउनुपर्ने विचार व्यक्त गरे । विहान सडक सरसफाई कार्यक्रममा सहभागि भई सम्मेलनको उद्घाटन गर्न पुग्नुभएका मुख्यमन्त्री शाहीले श्रमप्रति सम्मान गर्ने भावनाको विकास गर्न प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनका रुपमा मनाउन थालेको जानकारी दिए ।


मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि प्रदेश सरकार महत्वकाँक्षी योजनाका साथ अगाडि वढेको बताए । उनले भने 'भौतिक पुर्वाधार, पर्यटन, जलविद्युत, कृषिको विकास सरकारको नीति कार्यक्रममा उच्च प्राथमिकताका दिएका छौं ।'


श्रमदिनका अवसरमा सडक सरसफाई :
प्रदेश सरकारले शुरु गरेको श्रमदिनका अवसरमा आज मुख्यमन्त्री महेन्द्रवहादुर शाही र विभागीय मन्त्री तथा सचिवहरु सहितको टोलीले सडक सरसफाई गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको प्रशासकीय क्षेत्रका सडकहरु सरसफाई गरिएको थियो ।


श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकासका लागि प्रदेश सरकारले हरेक महिना १ र १५ गते श्रमदिनको घोषणा गरेको छ । श्रमदिनमा मुख्यमन्त्री, मन्त्री तथा सरकारी निकायका सवै पदाधिकारीले अनिवार्य रुपमा श्रमदान गर्ने व्यवस्था मिलाईने मुख्यमन्त्री शाहीले बताए । पुँजी निर्माण र संमृद्धिका लागि श्रम महत्वपुर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले भने–‘दिनभर सुतेर विताउने रातभरी पैसा आउने कही पनि हुदैन, संसारमा समृद्धशाली देश त्यहाँका जनताको श्रमले वनेका हुन ।’


सडकमै ज्ञापन पत्र :
यसैविच मुख्यमन्त्री शाहीले सडकमै ज्ञापन पत्र बुझेका छन् । मुख्यमन्त्री शाहीले गृहजिल्लावाट आएको तिला कर्णाली वहुमुखी क्याम्पसको ज्ञापन पत्र सडकमै बुझेका हुन् । ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भने– ‘कार्यपद्धतीमा परिवर्तन जरुरी छ, काम गर्नका लागि औपचारिकता जरुरी छैन।’


क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा र स्ववियु अध्यक्ष भिमप्रसाद आचार्य नेतृत्वमा आएको टोलीले खेलमैदान निर्माण, १२ कोठे पक्की भवन निर्माण, क्याम्पस हाताको घेरवार निर्माण, खानेपानी व्यवस्था लगायतको माग राखी ज्ञापन पत्र बुझाएका हुन् ।

२०७५ बैशाख १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्