३ जेठ । मुलुकको शासन सत्ता सम्हालेका दुई ठूला वाम दल नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र आजैदेखि एक भएका छन् ।
तत्कालीन नेकपा एमालेका महासचिव एवं जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको स्मृति दिवसको अवसर पारी एकता घोषणा गरिएको हो ।
बिहिबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरि दुई पार्टी एक भएको घोषणा गरिएको हो । घोषणा सभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रमशः एमाले र माओवादी केन्द्रको विघटन गरेका थिए ।
बिहिबार बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । संयोजन समितिको निर्णय अनुमोदनका गर्न दुबै दलले आजै स्थायी समितिको आकस्मिक र अन्तिम बैठक गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी नामको नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने बताइएको छ । दल दर्ताको जिम्मा नेताद्वय सुवास नेम्वाङ र देव गुरुङलाई दिइएको छ ।
संगठन
नवगठित नेपाल कम्युनिष्ट पार्टीमा ४५ (एमालेबाट २६ र माओवादी केन्द्रबाट १९) सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय समिति रहनेछ । केपी ओली र प्रचण्ड नेकपाको सहअध्यक्ष रहनेछन् भने झलनाथ खनाल र माधव कुमार नेता वरिष्ठ नेता रहनेछन् ।
सचिवालय
नेपाल कम्युनिष्ट पार्टीले ९ शीर्ष नेता सम्मिलित केन्द्रीय सचिवालय गठन गरेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली शीर्ष वरीयतामा छन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल रहने छन् ।
त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन्।
पार्टीले बिष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ।
कार्यकर्ता खुशी
नयाँ संविधान निर्माणपछि दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेका दुई वाम दल एक भएकोमा कार्यकर्ता उत्साहित बनेका छन् । राजनीतिक स्थायित्व र समृद्धिको नारा बोकेर एउटै चुनावी घोषणापमा निर्वाचन लडेका उक्त दललाई जनताले व्यापक समर्थन दिएका थिए ।
एकता घोषणा पश्चात् विभिन्न जिल्लामा मदन आश्रित स्मृति सभा र एकताको खुशीयाली संगै मनाइएको छ ।
प्रतिवद्धता पूरा
यससंगै २०७४ असोज १७ गते व्यक्त गरिएको वाम एकता प्रतिवद्धता पूरा भएको छ । प्रधानमन्त्री केपी ओली र प्रचण्डले वाम एकताको उक्त ऐतिहासिक जिम्मेवारी पूरा गरेका छन् ।
जनवर्गीय संगठन खारेज
नेकपा एमाले र माओवादी केन्द्रका सबै जनवर्गीय संगठन विघटन गरिएको छ । नयाँ पार्टीको घोषणा भएसंगै दुबै पार्टीका जनवर्गीय संगठन भंग भएका हुन् । अबको ३ महिनाभित्र जनवर्गीय संगठनहरुको निर्वाचन गरिने जनाइएको छ ।
पेरिस डाँडामा कार्यालय
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिने भएको छ । यसअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको ठाउँमा केन्द्रीय कार्यालय राखिने भएको हो । यसअघि एमालेको केन्द्रीय कार्यालय रहेको स्थान धुम्बाराहीमा भने नेकपाको शाखा कार्यालय रहने छ ।
'टेम्पो होइन जेट'
नवगठित नेकपाका सहअध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी जेट विमान भएकोले चलाउन पनि २ जना चाहिने बताए । एकता घोषणा सभामा बोल्दै उनले भने, ‘टेम्पो चलाएको हो र, एउटामात्र ड्राइभर हुन, जेट चलाउन दुई पाइलट चाहिन्छ ।’
ओली र पुष्पकमल दाहाल नेकपाका सहअध्यक्ष छन् । त्यस्तै माधवकुमार नेपाल र झलनाथ खनाल बरिष्ठ नेता बनेका छन् ।
विशाल कम्युनिष्ट पार्टी
दुई पार्टीको एकीकरणसँगै नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी स्थापना भएको छ। २००६ सालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो। फुट्दै र जुट्दै ६९ वर्ष गुजारेको कम्युनिष्ट पार्टी एमाले र माओवादी एकता भएसँगै विशाल बनेको छ ।
वामपन्थी शक्तिमध्येमात्र होइन संघीय संसद, प्रदेश सभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले यो नेपालको इतिहासकै सबैभन्दा शक्तिशाली पार्टी भएको छ ।संघीय संसदका दुबै सदनमा यो दलसँग ६० प्रतिशतभन्दा बढी बहमुत छ ।
उपल्लो सदनका ५९ सदस्यमध्ये कम्युनिष्ट पार्टीका ३९ जना सांसद छन्। राष्ट्रपतिबाट नियुक्त तीन जना पनि जोड्दा यो संख्या ४२ पुग्छ । तल्लो सदन प्रतिनिधि सभाका २७५ सांसदमध्ये यो दलसँग ६३.५ प्रतिशत अर्थात् १७४ जना सांसद छन् । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभाका सभामुख र उपसभामुख पनि यही दलका छन् ।
मंसिरमा भएको प्रतिनिधि सभामा यो दलले झन्डै ४७ प्रतिशत लोकप्रिय मत पाएको छ। ९५ लाख ४४ हजार ७ सय ७९ मतमध्ये कम्युनिष्ट पार्टीले ४४ लाख ७७ हजार २ सय १५ मत पाएको छ ।
प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार छ । ती ६ वटै प्रदेश सभामा सभामुख र उपसभामुख पनि यही पार्टीका छन् । सात प्रदेशका ५५० प्रदेश सभा सदस्यमध्ये कम्युनिष्ट पार्टीका ३५१ जना सांसद छन्।
स्थानीय तहको चुनावमा एमाले र माओवादी छुट्टाछुट्टै लडेका थिए। ७५३ स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १९ हजार ५ सय ४०मा कम्युनिष्ट पार्टीका जनप्रतिनिधि छन् ।
प्रतिकृया दिनुहोस्