४ जेठ । कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन जेठ ११ गतेदेखि शुरु हुनेछ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो अधिवेशन बोलाउन प्रदेश प्रमुखको कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ ।
बैठकले कर्णाली प्रदेश मुख्यमन्त्री राहत सहायता कोष निर्देशिका आवश्यक परिमार्जन गरी पारित गरेको छ । त्यस्तै डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा राजनीतिक समितिको कार्यदलले पेश गरेको प्रतिवेदनलाई अध्ययन गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
बैठकले जुम्ला जिल्लाको गुठीचौर र तातोपानी गाउँपालिकाको केन्द्र सम्बन्धी विवादको अध्ययन गर्न यज्ञराज बोहोराको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।
यसैगरी बैठकले विभिन्न मन्त्रालयबाट आएका आठवटा ऐनको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
कर्णाली प्रदेश कर तथा गैर कर ऐन, २०७५
कर्णाली प्रदेश वित्तिय हस्तान्तरण ऐन, २०७५
कर्णाली प्रदेश पर्यटन ऐन, २०७५
कर्णाली प्रदेश उद्योग ऐन, २०७५
कर्णाली प्रदेश वन ऐन, २०७५
कर्णाली प्रदेश वातावरण संरक्षण ऐन, २०७५
कर्णाली प्रदेश जग्गा प्रशासन ऐन, २०७५
कर्णाली प्रदेश खाद्य सम्बन्धी ऐन, २०७५
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट आएको विनियोजन विधेयक, २०७५ को तर्जुमा अघिका बजेटका सिद्धान्त, भुमिका र नीतिलाई बजेट छलफलका रुपमा प्रदेशसभामा पेश गर्न स्विकृति दिने निर्णय गरेको प्रवक्ता केसीले बताइन् ।
प्रतिकृया दिनुहोस्