Birendranagar Municipality

कर्णाली प्रदेश सरकारले कानुन निर्माणलाई तिव्रता दियो, प्रादेशिक कानुन आयोग गठन गर्ने

सेरोफेरो
कर्णाली प्रदेश सरकारले कानुन निर्माणलाई तिव्रता दियो,  प्रादेशिक कानुन आयोग गठन गर्ने

६ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले कानुन निर्माणलाइ तिव्रता दिने निर्णय गरेको छ । आइतवार बसेको बैठकले विभिन्न ६ वटा निर्णयहरु गरेको छ । बैठकले हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा मिति २०७५ जेष्ठ २ गते मकालु एअरको जहाज दुर्घटनामा निधन भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्ने र चालकहरुले कर्णाली प्रदेशको लागि पुर्‍याएको योगदानको कदर गर्न आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

बैठकले विभिन्न मन्त्रालयलाई विधेयक तर्जुमाको लागि सैद्धान्तिक सहमति प्रदान गर्ने समेत निर्णय गरेको छ । जसअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्णाली प्रदेश विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि विधेयक २०७५ र लागु औषध नियन्त्रण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

 

यस्तै विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व वजेटका सिद्धान्त, उद्धेश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जन सहित पुर्व वजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेश सरकारको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा सामाजिक विकास मन्त्री दल रावल, मुख्यमन्त्री कार्यालयका सचिव र सवै मन्त्रालयका सचिवहरु रहेको समिति निर्माण गरि जिम्मेवारी समेत प्रदान गरेको छ ।

 

प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुर्‍याउनका लागि प्रादेशिक कानुन आयोग गठन गर्ने निर्णय गरिएको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विमला केसी जानकारी दिइन् ।

२०७५ जेठ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्