Birendranagar Municipality

कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु : गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश नम्वर ६ उल्लेख

सेरोफेरो
कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुरु : गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश नम्वर ६ उल्लेख

८ जेठ । कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुरु भएको छ । गृह मन्त्रालयको आयोजना रहेको एक दिने गोष्ठीलाई संघिय सरकारका गृह मन्त्री राम बहादुर थापा 'बादल'ले उद्घाटन गरेका हुन् ।

 

उक्त गोष्ठीमा कर्णाली प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री नरेश भण्डारी, गृह सचिव प्रेम कुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायत कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुको सहभागीता रहेको छ ।

 

गोष्ठीमा गृहले अगाडी सारेका सुरक्षा रणनिती र कार्यक्रमहरु, स्थानिय, प्रदेश र संघिय सरकारको विचमा सुरक्षा सम्वन्ध र जनताका सुरक्षालाइ प्रभावकारी बनाउने वारे छलफल हुने गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

गृह मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कर्णाली नलेखी प्रदेश ६ उल्लेख :

गृह मन्त्रालय द्वारा आयोजित कार्यक्रमको मुख्य व्यानर र प्रस्तुतीमा समेत प्रदेश नम्वर ६ उल्लेख गरिएको छ । मुलुकको गृहमन्त्रालयले प्रदेश सभावाट दुइ तिहाइ भन्दा धेरै मतवाट प्रदेशको नामाकरण भइसकेको अवस्थामा कर्णाली प्रदेश लेख्न आनाकानी गरेको पाइएको छ ।

 

प्रदेश सभाको मिति २०७४ फागुन १२ गते बसेको चौथो बैठकले नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नम्वर ६ लाई कर्णाली प्रदेश नामाकरण गरेको हो ।


यसैविच गृहमन्त्रालयको मतहतमा रहने प्रदेश प्रहरी कार्यालय सुर्खेतले समेत आफ्नो कार्यालयको वोर्डमा कर्णाली प्रदेश लेख्न कन्जुस्याइ गरेको छ । प्रदेशको नामाकरण भएको तीन महिना वित्दा समेत प्रदेश प्रहरी कार्यालयले प्रदेश नम्वर ६ हटाएको पाइदैन । यसवारे प्रदेश प्रहरी कार्यालयले प्रतिक्रिया दिन मानेन ।

 

२०७५ जेठ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्