Birendranagar Municipality

गाउँमा कहिले पुग्ला सदरमुकाम केन्द्रित दिवसको सन्देश?

रुपलाल बोहोरा/डोल्पा
गाउँमा कहिले पुग्ला सदरमुकाम केन्द्रित दिवसको सन्देश?

१४ जेठ ।  पहिले मात्र हैन अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु सबै सदरमुकाम केन्द्रित हुने गरेका छन् । यस्ता दिवसलाई कसरी सार्थक बनाउने भन्ने विषयमा धेरैको चासो गएको देखिन्न ।

 

सोमबार बिहानै जिल्ला समन्वय समितिको कार्यालयमा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुका विशिष्ट ब्यक्तिहरुको जमघट देखिन्थ्यो । अति भयो, महिनावारीका सबै सीमा तोडौं भन्ने नारा लेखिएको व्यानर सहित महिनावारी स्वच्छता दिवस मनाउन उनीहरु सदरमुकाममा जम्मा भएका थिए ।

 

कार्यक्रमको सुरुवातमा सबैले नाराहरु लेखिएका प्लेकार्ड बोकेका तस्बिर खिच्दै गर्दा केहीले अर्कोतिर कानेखुशी गर्दै थिए । गाउँमा कहिले पुग्ला यस्ता सचेतनाका कार्यक्रम? कहिले पाउला नाराले सार्थकता?

 

यो दिवसको सन्देश हो- महिनावारी प्राकृतिक प्रक्रिया हो । यो लाज नभई गर्वको विषय हो । यस बारे खुलेर कुरा गरौं । महिनावारी सम्बन्धि गलत धारणा र अभ्यासको अन्त्य गरौं भन्ने ।

 

तर, प्लेकार्ड बोकेर बजार परिक्रमा गर्दैमा महिनावारीसंग सम्बन्धित कुसंस्कारको अन्त्य हुन्छ त ? कार्यक्रमका एक सहभागीले भने व्यवहारमा परिवर्तन गर्न नसक्दा सम्म समस्या समाधान हुँदैन । यसका लागि गाउँघरमा जनचेतना जगाउनु जरुरी छ ।

 

महिनावारी हुँदा घर बाहिर राख्ने, दुध खान नदिने, कसैलाई छुन नहुनेलगायतको अभ्यास जिल्लामा कायमै छ । यस्तो अवस्थामा सुधार ल्याउन धामी, झाँक्री, पुजारी लगायत सबैलाई अभिमुखीकरण गर्नु जरुरी छ ।

 

प्रभातफेरीसंगै जनचेतनामूलक सडक नाटक पनि प्रस्तुत पनि गरिएको थियो ।

२०७५ जेठ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्