Birendranagar Municipality

कर्णाली प्रदेशको गरिबी हटाउन बजेट केन्द्रित हुनुपर्ने सांसदहरुको जोड

सेरोफेरो
कर्णाली प्रदेशको गरिबी हटाउन बजेट केन्द्रित हुनुपर्ने सांसदहरुको जोड

१४ जेठ । कर्णाली प्रदेश सरकारको पूर्वबजेट छलफल आजदेखि सुरु भएको छ । सोमबार बसेको प्रदेश सभाको दोस्रो अधिवेशनको तेस्रो बैठकमा पुर्वबजेटको छलफलमा बोल्दै सांसदहरुले कर्णालीको गरिबी हटाउने दिशा तर्फ बजेट लक्षित हुनुपर्ने धारणा राखेका छन् । 


बैठकमा बोल्दै सांसद हिमबहादुर शाहीले प्रदेशको गरिबी उन्मुलनमा सहयोग पुग्ने बजेट ल्याउन कर्णाली सरकारले जोड दिनुपर्ने बताएका छन् । उनले भने ‘कर्णालीको गरिबी उन्मुलनमा सहयोग पुग्ने खालको बजेट ल्याउनुपर्दछ । जबसम्म कर्णालीमा गरिबी रहन्छ तबसम्म विकासको महशुस जनताले गर्न सक्दैनन् ।’ उनले थपे ‘जनतालाई प्रत्यक्ष प्रतिफल दिने गरी आगामी बजेट कर्णाली सरकारले ल्याउनुपर्छ । कर्णालीको गरिबी घटाउने विषयले बजेटमा प्राथमीकता पाओस् ।’


सांसद यामलाल कंडेलले कर्णालीको गरिबी कसरी घटाउन सकिन्छ भन्ने विषयलाई बजेटमा प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले भने ‘कर्णाली प्रदेश हरेक क्षेत्रबाट पछाडि छ । यहांको गरिबी कसरी हटाउन सकिन्छ भन्ने विषय बजेटमा प्राथमिकताको साथ आउनुपर्छ ।’ प्रदेशको सडक सञ्जाल, जलस्रोत, शिक्षा र स्वास्थ्यलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने सांसद कंडेलले धारणा राखेका छन् । सरकारले कानुन निर्माण र कानुन निर्माण अनुसार संरचना बनाउन पनि लाग्नुपर्ने उनको भनाई रहेको थियो ।


बैठकमा पुर्वबजेटको छलफलमा बोल्दै सांसद देवि ओलीले प्रदेश सरकारले लैंगिक विभेद हटाउने खालको बजेट ल्याउनुपर्ने बताएकी छन् । उनले भनिन् ‘ कर्णाली प्रदेशमा आजपनी उत्तिकै रुपमा लैंगिक विभेद छ । सरकारले ल्याउन लागेको आगामी बजेट लैंगिक उत्तरदायी, तथा विभेदरहित बजेट हुनुपर्दछ । ’ सांसद प्रदम रोकायले आर्थिक रुपान्तरणका लागि बजेट ल्याउनुपर्ने बताए । उनले भने ‘अर्थतन्त्र बलियो भएन भने सम्वृद्धिको सपना हराएर जान्छ । जसका लागी अर्थतन्त्रनै बलियो हुनु जरुरी छ । कर्णाली सरकारले आर्थिक रुपान्तरणका लागी बजेट ल्याउनुपर्छ ।’


कर्णाली सरकारको आईतबार बसेको बैठकमा विशेष समयमा उठेका केहि सवालहरुको जवाफ सरकारका तर्फबाट आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले दिएका थिए । सरकारको आगामी चौथो बैठक मंगलबार दिउसो १ बजे बस्नेछ । चौथो बैठकमा पनी पुर्वबजेटकै विषयमा सांसदहरुले आºनो धारणा राख्ने कार्यायोजना रहेको संसद सचिवालयका सचिब राजेश पौडेलले जानकारी दिएका छन् ।

 

२०७५ जेठ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्