१६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ कानुन बमोजिम रहेको बताएका छन् । ढुंगेलको रिहाइका बिषयमा काँग्रेसले गरेको आपत्तीको कुनै अर्थ नरहेको समेत ओलीले बताए । “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदीलाई संविधान, नियम कानुन अनुसार अरु कैदीहरु जसरी छुट्छन् ,बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो” प्रधानमन्त्री ओलीले भने “यस बिषयमा काँग्रेसको आलोचना कानुन सम्मत छैन ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुन अनुसार चल्ने देशमा कसैलाई मनलाग्दी गर्न छुट नभएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले काँग्रेसलाई खुद्रा, त्यान्द्रा समाएर राजनीति नगर्न समेत सुझाएका छन् ।
नेपालको शान्ती प्रक्रिया दुंनियाका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित मोडल नभइ आफैले सृजना गरेको मोडल भएको प्रधानमन्त्रीको भनाइ छ ।
सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ । वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बजेटमा कृषि, उद्योग, ब्यापार लगायतका क्षेत्रमा युगान्तकारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताए । कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले सबै सांसदहरुलाई बजेट पुन अध्ययन गर्न, नुबझेका कुरा अनुभवी र विज्ञ सांसदहरुसंग सोध्न पनि सांसदहरुलाइ आग्रह गरे । “नेकपाका सांसदहरु जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुले जनताप्रति उतरदायी हुनैपर्छ” प्रधानमन्त्री ओलीले थपे “हाम्रो संसदीय दल समय गुजारेर, अलमलिएर बस्ने पल्टन होइन । सधैं क्रियाशिल भइरहनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले संघीय समाजवादी फोरम केही दिन मै सरकारमा सहभागी हुने समेत बताए ।
संसदीय दलको उपनेता नेम्वाङ
आजको संसदीय दलको बैठकले नेकपाको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी संसदीय दलको प्रमुख सचेतकमा देवप्रसाद गुरुङ चयन भएका छन् । यसैगरी सचेतकमा शान्ता चौधरी चयन भएकी हुन् । राष्ट्रियसभामा नेकपाको प्रतिनीधीको रुपमा दिनानाथ शर्मालाई बैठकले सर्वसम्मत चयन गरेको छ ।
प्रतिकृया दिनुहोस्