Birendranagar Municipality

फोरम सरकारमा सहभागी, पोखरेल र यादव उपप्रधानमन्त्री

सेरोफेरो/काठमाडौं
फोरम सरकारमा सहभागी, पोखरेल र यादव उपप्रधानमन्त्री

१८ जेठ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार फोरमलाई सरकारमा सहभागी गराएका हुन् ।

 

फोरमका उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य र मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री बनेका छन् । यससँगै ओली नेतृत्वको मन्त्रीपरिषद २४ सदस्यीय भएको छ ।

 

सरकार विस्तारसंगै प्रधानमन्त्री ओलीले रक्षा मन्त्री ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् । पोखरेल दोस्रो र यादव तेस्रो वरीयतामा रहेका छन् । यादव २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री बनेका थिए ।


नवनियुक्त उपप्रधानमन्त्रीद्वय पोखरेल र यादवले शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारी समक्ष सपथ लिएका छन् ।

 

यसैगरी प्रधानमन्त्री ओलीले संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीद्वय राई र बाँस्कोटाले पनि आजै राष्ट्रपति भण्डारी समक्ष सपथ लिएका छन् । 

 

राष्ट्रपति भवन शितल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

फोरम सरकारमा सहभागी भएसंगै संघमा दुई तिहाई बहुमतको सरकार गठन भएको छ । सात प्रदेशमध्ये ६ वटामा नेकपा तथा प्रदेश नं. २ मा फोरम र राजपाको सरकार रहेको छ । 

२०७५ जेठ १८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्