२२ जेठ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदका सदस्यहरुको सम्पति विवरण सार्वजनिक भएको छ । मंगलवार मन्त्रिपरिषदका सवै सदस्यहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्पत्ति विवरणमा कालिकोटको पचाल झरनामा पु्ख्र्यौली घर र ५ रोपनी जग्गा, ६ तोला सुन, २०० तोला चाँदी रहेको विवरण सर्वजनिक गरेका छन् । उनको एभरेष्ट बैंकमा २ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख नगद छ । मुख्यमन्त्रीको १० लाखको कुखुरापालन ब्यवसाय र २ लाख ५० हजारको तरकारी खेती व्यवसाय रहेको विवरणमा उल्लेख छ ।
कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सरकारको धनी मन्त्रीको रुपमा देखिएका छन् । उनले सार्वजनिक गरेको सम्पति विवरणमा घर जग्गा र विभिन्न कम्पनीमा शेयर र बैंक बचत रहको देखिएको छ । ज्वालाको काठमाडौ, सल्यान र बर्दियामा घर रहेको जनाएका छन् । उनको काठमाडौं महानगरपालिका, सल्यान शारदा नगरपालिका, दाङको तुलसीपुर र घोराहीमा आफ्नै नाममा जग्गा रहेको विवरणमा उल्लेख छ । यसैगरी बर्दियाको बाँसगढीमा आमाको नाममा विभिन्न ४ स्थानमा, बलबहादुर साहुको नाममा बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष विसी नाममा घोराहीमा जग्गा छ । ज्वालाको नगद १५ लाख, ३ तोला सुन र १० तोला चाँदी रहेको छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा ४ लाख १० हजार र राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी उनको र छोराको नाममा करिव ५० लाख ६५ हजार बराबरको सेयर रहेको र ३७ लाख ऋण भएको उल्लेख छ ।
भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री सवैभन्दा धनी देखिएका छन् । उनले सार्वजनिक गरेको विवरणमा सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा जग्गा रहेको छ । खत्रीको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा रहेको छ । निर्माण व्यवसायीसमेत रहेका उनको बैंकमा करोडभन्दा बढी वचत छ भने ट्रक, ट्रिपर, जिप, एक्साभेटर गरी सवारी साधन रहेको छ । बाँकेको कोहलपुर, खजुरा र गणापुरमा उनको झण्डै ४ विघा जग्गा रहेको छ । उनको काठमाडौंको बुढानिलकण्ठमा २ रोपनी र भक्तपुरको चाँगुनारायणमा २ रोपनी जग्गा रहेको छ । कैलालीको कैलारी गाउँपालिकामा झण्डै ३ विघा र धनगढीमा डेढ कठ्ठा जग्गा रहेको छ । उनको २१ तोला सुन छ भने आफू, पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद रहेको छ । उनको आफ्नै नाममा विभिन्न बैंकको गरी ११ करोड ८६ लाख रुपैयाँको सेयर रहेको छ ।
सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जुम्ला र बाँकेमा पुख्र्यौली घर रहेको छ । ७६ हजार वर्गमिटर जग्गा, १५ तोला सुन, १० तोला चाँदी र एभरेष्ट बैंकमा १ लाख रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै उनीसँग एउटा मोटरसाइकल, २ वटा मोवाइल रहेको जनाएका छन् ।
सामाजिक विकास मन्त्री दल रावलको हुम्लामा ३ वटा र बाँकेमा एउटा गरी ४ वटा घर रहेको सार्वजनिक गरेका छन् । उनको सुर्खेतमा २५ लाखको जग्गा र हुम्लामा ५० लाखको पुरख्यौली जग्गा रहेको छ । उनको ५५ तोला सुन, १५० तोला चाँदी रहेको छ । रावलको नाममा नेपाल एसबीआई बैंकमा १ लाख ५३ हजार, पत्नीको नाममा सनराइज बैंकमा २४ लाख र राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ६५ हजार रुपैयाँ रहेको छ । उनको ४५ भेडाबाख्रा, ११ गाइगोरु र ३ वटा भैंसी रहेको विवरणमा उल्लेख छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको डोल्पामा ४ वटा पुर्ख्यौली घर र ५ ठाउँमा जग्गा, १५ तोला सुन, १ किलो चाँदी रहेको छ । मन्त्री बुढाले नगद बारे विवरणमा उल्लेख गरेका छैनन् ।
सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको सम्पत्ति सवै मन्त्रीहरु भन्दा कम देखिएको छ । उनले सार्वजनिक गरेको विवरणमा रुकुमको सिम्लेमा जग्गा छ । रुकुम, दाङ र सुर्खेतमा समेत जग्गा रहेको जनाएकी छन् । उनको नाममा नगद नरहेको र शेयरमा भने १५ लाख देखिन्छ ।
प्रतिकृया दिनुहोस्