३० जेठ । कर्णालीका प्रदेशसभा सदस्यहरुले अपांगमैत्री व्यवहारका साथ कानुन तथा निती निर्माण तहमा सहभागी बन्ने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
वीरेन्द्रनगरमा अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र सरोकारवालाको भुमिका विषयक कार्यक्रममा सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उनीहरुले कर्णाली प्रदेशलाई अपांगमैत्री बनाउनका लागि कानुनमा अपांगताका सवालहरुलाई उठाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।
प्रदेश सभा सदस्य धर्मराज रेग्मीले आगामी बजेट अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा पार्नका लागि सरकारलाई सुझाव दिने काम आफ्नो तर्फबाट गर्ने विश्वास दिलाए । उनले भने यस विषयमा म सचेत छु, बजेट विनियोजनको लागि सरकारलाइ घचघचाउछु ।
सांसद गुलाबजंग शाहले हरेक व्यक्ति सोचले अपाङ्गता भएको भन्दै दृष्टिकोण बदल्नतर्फ सबैलाई सचेत गराए । उनले कर्णाली प्रदेशलाई अपांगमैत्री बनाउन लागि आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै सांसद पदमबहादुर रोकायाले कर्णाली प्रदेशका हरेक अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि सधैँ आवाज उठाउने कुरामा शंका नगर्न आग्रह गरे ।
सांसद सीता नेपालीले कानुन निर्माण गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिका तर्फबाट सुझाव तथा सहभागिता अपरिहार्य भएको बताइन् । सांसद हुँदा पनि र नहुँदा पनि सधैँ आफु अपाङ्गताको पक्षमा भएको भन्दै उहाँले सशक्तिकरणका लागि संयुक्त आवाज उठाउने प्रतिवद्धता व्यक्त गरिन् ।
सो कार्यक्रममा गाउँपालिका महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले स्थानीय तहमा पनि अपाङ्गताका सवालमा सम्बोधन गर्ने गरी निती निर्माणमा भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह आग्रह गरे ।
अपाङ्ग सशक्तिकरण केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले अपाङ्गता भएका व्यक्ति विभेद, सिमीतता र अवरोधका कारण सधैँ पछाडि परेको उल्लेख गरे । उनले कानुन तथा बजेट निर्माणका समयमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहभागी गराउन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसदहरु मिनासिंह रखाल, वीरबहादुर शाही, कृष्णा शाह, पद्मा खड्का, राजु गुईँदेल, विन्दमान विष्ट, ठम्मर विष्ट, गोपाल शर्मा, झुवा विक लगायतले कर्णाली प्रदेशलाई अपाङ्गमैत्री बनाउने गरी निती निर्माणमा सहभागी बन्ने प्रतिवद्धता जनाएका छन् ।
कर्णाली प्रदेशमा जम्मा जनसंख्याको २ दशमलव ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको पनि कार्यक्रममा जानकारी दिईएको थियो ।
प्रतिकृया दिनुहोस्