Birendranagar Municipality

नेपाल कम्युनिस्ट पार्टीको प्रथम स्थाइ कमिटी बैठक सम्पन्न

सेरोफेरो/काठमाडौं
नेपाल कम्युनिस्ट पार्टीको प्रथम स्थाइ कमिटी बैठक सम्पन्न

२ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटीको प्रथम बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न भएको छ ।

 

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकताबद्ध भएपछि कार्यकर्ता र जनसमुदायमा पैदा भएको उत्साहलाई आत्मसात गर्दै पार्टी निर्माणमा जुट्न सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई अझ सुदृढ र फलदायी बनाउन दुबै अध्यक्षले पार्टी पंक्तिलाई आह्वान र निर्देशन दिएका छन् ।

Nekapa

बैठकले पार्टी एकता एक अद्वितीय, असाधारण र विशिष्ट घटना भएकाले त्यसका आधारमा अघि बढ्नुपर्नेमा जोड दिंदै सांगठिक एकीरकणको प्रक्रियालाई छिटोभन्दा छिटो अघि बढाउने निष्कर्ष निकालेको छ । सरकारका कामहरुको जनस्तरमा राम्रो प्रभाव परिरहेको निष्कर्ष निकाल्दै बैठकले थप विषयमा आत्मसमीक्षा गर्दै अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुका साथै सरकारका कामहरुमा पार्टी पंक्तिलाई परिचालन हुन आह्वान गरेको छ ।

 

बैठकमा महासचिव विष्णु पौडेलले एकतापछि भएका सांगठनिक कामहरुका बारेमा जानकारी गरायका छन् । एकीकरण प्रक्रिया ठीक ढंगले बढिरहेको र यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

 

महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि समेत छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उक्त मस्यौदामाथि स्थायी कमिटी सदस्यहरुले १० दिनभित्र आफ्ना राय–सुझावहरु दिने र केन्द्रीय सचिवालयले ती राय–सुझावहरु समेटेर तयार पारेको प्रस्ताव १५ दिनभित्र स्थायी कमिटीको बैठकबाट पारित गर्ने तय भएको छ ।

 

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा जानकारी गराए । भ्रमण तयारी राम्रो रुपमा भएको र त्यसलाई आपसी हितका पक्षमा केन्द्रित गराउने काम भइरहेको जानकारी गराइएको प्रवक्ता श्रेष्ठले बताए ।

२०७५ असार २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्