४ असार । सरकारले जनताको आवश्यकता र चाहना अनुरुप शासन गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टीका नेता सुरेन्द्र कुमार कार्कीले बताएका छन् । जनचाहना बमोजिम काम भए नभएको हेर्न जनताले सरकारको निगरानी गर्नुपर्ने पनि उनको भनाई छ ।
कर्णाली प्रदेश माथि उठेमात्र देश माथि उठ्छ भन्दै आएका कार्कीले भुत्ते राजनीतिले अर्थव्यवस्था पनि धराशायी बनाउने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागमा अध्ययनरत विद्यार्थीहरुलाई प्रवचन दिंदै सोमबार बिहान उनले सो कुरा बताएका हुन् ।
नवमार्क्सवाद र अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अतिथि व्याख्यानमा उनले कम्युनिष्ट सरकार पनि बदनाम हुनसक्नेतर्फ सचेत गराएका छन् । 'सरकारको नीति कार्यान्वयन गर्ने क्रममा उचित निगरानी नभए त्यस्तो हुनसक्छ', उनले भने- 'कम्युनिष्टको शासन पनि जनताको नजरमा बदनाम हुन सक्छ । मार्क्सवादको अनुहारमा जनताले दाग देख्न सक्छन् ।'
'मार्क्सवाद एक अपूर्ण विज्ञान भएकाले यसमा चाहेजति कुरा थप गर्ने छुट छ । साहित्यिक आलोचनावाद देखि मनोविज्ञान पनि मार्क्सवादको विषय हो', उनले भने । मार्क्सवादको आलोचनात्मक तथा सुधारात्मक अध्ययन नै नवमार्क्सवाद भएको पनि उनले बताए ।
'राज्यले नीति निर्माण गर्दा जनताको पक्षमा हुनसकेमात्र त्यो दिगो रहन्छ । जुँगामुठे पुरुषले महिला नेतृ छान्ने, हिलो छुँदै नछुनेले किसानका नेता छान्ने परिपाटीमाथि पनि पुनर्विचार गरिनुपर्छ', उनले भने ।
सोही अवसरमा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागका प्रमुख तेजविक्रम बस्नेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रुपमा कायम राख्न संघीय संसदका सदस्यसमेत रहेका कार्कीसमक्ष आग्रह गरे ।
प्रतिकृया दिनुहोस्