५ असार । प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ। पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका देवकोटा ६ महिनासम्म बेलायतमै उपचाररत थिए । तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि उनी वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए। डा. देवकोटाले आफैले स्थापना गरेको बाँसवारीस्थित न्यूरो अस्पतालमा मृत्युवरण गरेका हुन्।
देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने अस्पतालले जनाएको छ। त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरिने भएको छ। यसैबीच उनको काजक्रिया पत्नी मधु दीक्षित, छोरीहरू मेधा, बसुधा र मञ्जरीले गर्ने पारिवारिक स्रोतले जनाएको छ। उनको काजकिरिया हेपाली हाइटमा ७ दिनसम्म हुनेछ ।
२०१० साल पुस १० गते गोरखाको आँपपिपलमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसी बोर्डमा समेत परेका थिए।
वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान दिएका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।
प्रतिकृया दिनुहोस्