Birendranagar Municipality

विश्वमा विस्थापित हुनेको संख्या ७ करोड : युएनएचसिआर

सेरोफेरो
विश्वमा विस्थापित हुनेको संख्या ७ करोड : युएनएचसिआर

५ असार । विश्वमा सन् २०१७ को अन्त्यसँगै आफ्नो थातथलोबाट विस्थापित हुनेको संख्या ६ करोड ८५ लाख पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग, युएनएचसिआरले जनाएको छ ।

 

विस्थापित हुने तथा शरणार्थीको प्रवृत्तिका बारेमा युएनएचसिआरले गरेको नयाँ अध्ययन अनुसार युद्ध, हिंसा तथा उत्पीडनका कारण धेरै मानिस विस्थापित भएको पाइएको छ ।

 

मुख्य गरी आफ्नो थातथलोबाट विस्थापित हुनेमा प्रजातान्त्रिक गणतन्त्र कंगो, दक्षिण सुडान, म्यानमार र सिरियाका धेरै छन् । म्यानमारमा गएको वर्ष रोहिङ्ग्या मुसलमानमाथि हिंसा भएको थियो । सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट, आइएस र सरकारी सेनाबिचको हिंसाको चपेटामा सर्वसाधारण नागरिक परेका छन् ।

 

सन् २०१७ मा हिंसाबाट जोगिनका लागि २ करोड ५४ लाख मानिस आफ्नो देश छोडेर जान बाध्य भएका छन् । यो सन् २०१६ को भन्दा २९ लाख बढी हो । यो एक वर्षमा मानिस आफ्नो देशबाट विस्थापित भएको सबैभन्दा ठूलो संख्या हो ।

 

सन् २०१७ मा मात्रै १ करोड ६२ लाख मानिस विस्थापित भएका छन् । यसको अर्थ हरेक दुई सेकेण्डमा एकजना विस्थापित हुन बाध्य छन् । विस्थापित हुनेमा विकाशिल देशका नागरिक बढी छन् ।

 

शरणार्थीको दर्जा पाउनका लागि आश्रयका लागि निवेदन दिनेको संख्या गएको वर्षको अन्त्यसम्ममा ३१ लाख भन्दा बढी पुगेको युएनएचसिआरले जनाएको छ । आफ्नै देशभित्र विस्थापित हुनेको संख्या चार करोड छ । यो गएको वर्षको तुलनामा केही कम हो ।

 

सन् २०१६ मा आफ्नै देशभित्र विस्थापित हुनेको संख्या ४ करोड ३० लाख थियो । विश्व शरणार्थी दिवसको पूर्व अवसरमा युएनएचसिआरले नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो । बुधबार शरणार्थी दिवस परेको छ ।

२०७५ असार ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्