५ असार । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा सुविधासम्पन्न र बढि जनसंङ्ख्या भएको जिल्लाको रुपमा सुर्खेत रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले प्रदेशको राजधानी भएपछि अपनाउनुपर्ने सावधानी अपनाउन सकेको छैन । भत्किएका सडक, जथाभावी फोहर र धुलोले जनता हैरान छन् । त्यसमाथि सडकका छाडा पशुका कारण यहाँको यातायात अस्तव्यस्त बनेको छ । बाटोमा हिड्ने बटुवा, सवारी चालक र व्यापारी छाडा पशुका कारण हैरान भएका छन् ।
छाडा पशुका कारण कतिबेला दुर्घटना निम्तिने हो थाहै हुंदैन भन्छन् गाडी चालक केशबबहादुर खत्री । उनी भन्छन्, ‘सडकमा दिनहुँजसो भेटिने छाडा पशु चौपाएका कारण सडक जाम र दुर्घटना हुने सम्भावना बढि हुन्छ ।’
वीरेन्द्रनगर ११ का मेहन्द्रकुमार डाँगी भन्छन्, ‘सडकका छाडा पशुका कारण बाटोमा हिंड्दा समेत समस्या भएको छ । छाडा पशुले बारीमा लगाएको तरकारी र बिऊसमेत खाइदिंदा किसानहरु समेत हैरान छन् ।’
वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले भने नगरका सडकमा रहेका छाडा पशुचौपायाहरुको व्यवस्थापनको लागि आवश्यक कदम चाल्दै आएको बताएका छन् । उनले भने, ‘यस्ता छाडा पशुलाई हामीले बाहिरी जिल्लामा समेत पठाएका छौं । बराहतालको रानीघाटमा गौशाला तयार हुँदैछ । केही समयमै नगरका छाडा पशुहरुको व्यवस्थापन हुन्छ ।’
यद्धपी नगरबासीले पटक पटक गुनासो गर्दासमेत नगरपालिकाले उचित ध्यान नदिएको नगरबासीले गुनासो पोखेका छन् ।
प्रतिकृया दिनुहोस्