७ असार । मगर समुदायको सबैभन्दा ठूलो पर्व बलपुजा यसवर्ष पनि रमाईलो गर्दै सकिएको छ । गत जेठ १ गतेदेखि सुरु भएको उक्त पर्व औपचारिक रुपमा बुधबार सकिएको हो ।
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट स्थित खलंगा बजारमा बसोबास गर्दै आएका खाम मगर समुदायले यसलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन् । प्रत्यक वर्ष जेठ १ गतेका दिनदेखि अनौपचारिक रुपमा नाच सुरु गर्ने र त्यसको ठीक १ महिना अर्थात असार १ गते नाचसँगै लेकमा पुगेर बुकीको फूल टिपेर ल्याई भूमि पूजा गरेर बलपूजा औपचारिक रुपमा सुरु गरिन्छ ।
यस पर्वमा रुकुमका खाम मगर जातिले आफ्नो मौलिक पोशाक लगाएर पञ्चेबाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ । महिलाहरु गुन्यू, चोली, पटुकी, पछ्यौरा र विभिन्न गहनामा सजिएका हुन्छन् भने पुरुषहरुले चोली र फेटामा घलेक लगाएका हुन्छन् ।
विशेष गरी खाम मगरहरुको बाहुल्य भएको रुकुम पूर्वमा यसको रौनक हुने गर्छ । वर्षौँदेखि रुकुम पश्चिमको मुसिकोट खलंगामा बस्दै आएका मगर समुदायले यहाँ पनि रमाईलो गर्ने गरेका छन् ।
मगर जातिले भूमिलाई आफ्नो मुख्य देवताको रुपमा मानेर पुज्ने चलन भएकोले भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको अन्त्य भई सबैमा खुसी आउने जनविश्वासका कारण परापूर्व कालदेखि भूमि पुजा गरेर देवतालाई खुसी बनाउने गरेको स्थानीय राजकुमार पुनमगरले बताए ।
रुकुम पश्चिमको सदरमुकाम खलंगाको सहिद मैदान, पातुखोला लगायतका स्थानमा रुकुम पूर्वका विभिन्न भागबाट बसाईसराई गरी आएका झण्डै ३ सय घरधुरी खाम मगरको बस्ती छ । यो क्षेत्रका सबै मगरहरुले संगै भेला भएर रमाइलो गर्दा आफुहरुले आपसमा दुःख सुख साट्ने र सदभाव कायम भएको उनीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस्