७ असार । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्वाचन आयोगले सञ्चालन गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रमबाट १३ बुदें सुझाब अनुमोदन भएको छ । देशभर सञ्चालन भईसकेको स्थानियतह, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा तथा राष्ट्रपती तथा प्रधानमन्त्रीको निर्वाचन कस्तो भयो र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा दुईदिन सम्म चलेको समिक्षा कार्यक्रमका सहभागीहरुले दिएको महत्वपुर्ण सुझाबहरु अनुमोदन भएका हुन् ।
मतदाता नामावलीको सम्बन्धमा फोटोसहितको मतदाता नामावली, वेवसाईटमा हेर्न सकिने व्यवस्था, परिचयपत्रको व्यवस्था जस्ता राम्रा पक्षहरु रहेको भएतापनी नामावलीमा रहेका विवरणमा त्रुटि, दर्तास्थलको सिमीत स्थान जस्ता समस्याहरु रहेकोले अगाामी दिनमा नामावलीमा रहेका विवरणलाई शुद्ध बनाउने र स्थायी परिचयपत्र उपलब्ध बनाउने सुझाब समिक्षा कार्यक्रमबाट अनुमोदन भएको छ ।
त्यस्तै निर्वाचनमा जनशक्तिपरिचालनमा महिलाको संख्या तुलनात्मकरुपमा ज्यादै न्युन रहनुका साथै समन्वय र व्यवस्थापनमा समेत कठिनाई रहेकोले आगामी दिनमा जनशक्ति योजना तथा कार्ययोजना बनाई कार्यान्वयन गरिनुपर्ने, सामागी्र ढुवानीमा योजना र कार्ययोजना नहुंदा समय, लागत र व्यवस्थापनमा केन्द्रदेखि मतदानस्थलसम्म समस्याहरु देखापरेको छ । यसलाई निर्वाचन कार्यतालीका अनुसार व्यवस्थापन गरिनुपर्ने, कागजी मतपत्रले थुप्रै समस्याहरु उत्पन्न गराएकोले विद्युतिय मतदानयन्त्रको प्रयोग गर्ने र सम्बन्धित मतदानस्थलमा नै मतगणना गर्ने व्यवस्था मिलाउने सुझाब समिक्षा कार्यक्रमबाट अनुमोदन गरिएको छ ।
साथै निर्वाचन खर्चको प्रकृति तथा प्रवृत्तिको विकृत स्वरुपलाई मध्यनजर राख्दै कानुनी र व्यवहारिक रुपमा खर्च नियन्त्रण, नियमन र व्यवस्थापन गरी दल र उम्मेदवारलाई जिम्मेवार बनाउन कानुनी व्यवस्था हुनुपर्ने, उम्मेदवारी दिने र लिने राजनितिक दलको विकृत अभ्यासलाई नियमन र व्यवस्थापन गर्नुपर्ने, निर्वाचन विवादलाई सहज र छिटो संयन्त्र मार्फत निरुपण गर्ने र विवादका विषयहरुलाई कानुनमा नै प्रष्ट र प्रभावकारी बनाउनुपर्ने लगाएतका सुझाबको अनुमोदन भएको छ ।
निर्वाचनको मिति तोक्ने कार्य र निर्वाचन क्यालेन्डर तयार गरी निर्वाचन गराउन आयोगलाई जिम्मेवार बनाउने गरी कानुनी व्यवस्था गरिनुपर्ने, मतदानस्थललाई व्यवस्थित र दिगो बनाउनका लागी सामुहिक रुपमा पुनरावलोकन गर्ने र निर्वाचन सरोकारवालाहरुको पहिचान गरी प्रशिक्षण कार्यक्रमको तह र दायरा बढाई नियमित प्रक्रियाको रुपमा संञ्चालन गर्ने जस्ता सुझाब निर्वाचन आयोगको समिक्षा कार्यक्रमबाट अनुमोेदन गरिएको छ ।
समिक्षा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै निर्वाचन आयोगका आयुक्त सुधिर शाहले देशभरी विभिन्न ठांउमा समिक्षा कार्यक्रम हुने र सबै ठांउबाट आएका सुझाबलाई सम्बोधन गरी अगामी दिनमा निर्वाचनलाई धांधली रहित बनाउनमा सहयोग पुग्ने बताएका छन् । कर्णाली प्रदेशको समीक्षा कार्यक्रमबाट अनुमोदन गरिएका सुझाबहरु समेत महत्वपुर्ण भएको आयुक्त शाहको भनाई रहेको थियो ।
प्रतिकृया दिनुहोस्