१० असार । वीरेन्द्रनगर नगरपालिकाले आगामि आर्थिक वर्ष २०७५/७६ मा सुन्दर शहर देखी चिडिया पार्क सम्मको योजना ल्याएको छ । वीरेन्द्रनगरका शहरहरुलाई सुन्दर राख्ने र नगरको शानको रुपमा रहेको कांक्रेविहारमा चिडिया पार्क निर्माणका लागि समेत नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले आइतबार सार्वजनिक गरेको बजेटमा पर्यटन, कृषि, क्षमता विकास, सरसफाई, स्वास्थ्य लगाएतका क्षेत्रमा ९६ करोड २२ लाख ८३ हजारको बजेट विनियोजन गरेको छ । बजेटको कुल आयतर्फ ९३ करोड ७४ लाख ८३ हजार र व्यय तर्फको कुल ९६ करोड २२ लाख ८३ हजार छ भने २ करोड ४८ लाख घाटा रहेको छ ।
चालु आर्थिक वर्षको बचत तथा आन्तरिक ऋणबाट व्यभार वहन गर्ने गरी घाटा बजेट ल्याइएको वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । बजेटको चालुतर्फ ६२ करोड २२ लाख ३९ हजार र पूँजीगत तर्फ ३४ करोड ४४ हजार रुपैया रहेको छ ।
वडाको बजेट सिलिङमा २० करोड ८० लाख, नगर महत्वको योजना मुख्य बजार पूर्वाधार विकास र म्याचिङ फन्डका लागि ३ करोड, महिला स्वरोजगार कार्यक्रमका लागि १ करोड, विभिन्न नगर स्तरिय गुरुयोजना निर्माण तथा अध्ययन अनुसन्धानका लागि ६० लाख, नगर महत्वको योजना घन्टाघर क्षेत्रको अगाडिको खुला मैदानमा पार्क, शहिद पार्क र बुलबुले पार्क निर्माण तथा सहकार्यका लागि १ करोड, ल्यान्डफिल साइटका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ ।
यसैगरी नगरपालिकाले विपद व्यवस्थापनका लागि ४० लाख, सवारी साधन खरीदका लागि ३० लाख, शिक्षा प्रवद्र्धन कार्यक्रम तथा प्रोत्साहनका लागि ५० लाख, नगर कृषि प्रर्वद्धनका लागि ७५ लाख विनियोजन गरेको छ ।
त्यस्तै नगर स्वास्थ्य प्रर्वद्धन तथा स्वयंसेविकाका लागि ३० लाख, पशु सेवा प्रर्वद्धन ३० लाख, सामाजिक परिचालक कार्यमक्रका लागि ४० लाख, सामाजिक विकास कार्यक्रम सहकार्यका लागि १२ लाख ४४ हजार, हरियाली प्रर्वद्धन र काँक्रेविहार चिडियाखाना पार्क विकास सहकार्यका लागि २० लाख, नगर सरसफाई प्रर्वद्धन तथा सहकार्यका लागि १० लाख रुपैया विनियोजन गरिएको छ ।
त्यसैगरी वीरेन्द्रनगरमा शहरी सौन्दर्य पार्क, फुटपाथ, छाडा पशु र ट्राफिक व्यवस्थापनका लागि १५ लाख, कला संस्कृती प्रर्वद्धन कार्यक्रमका लागि १० लाख, कार्यलय तथा नगर क्षेत्रभित्र सिसिटिभी क्यामेरा जडान तथा सहकार्यका लागि १५ लाख, सुशासन प्रर्वद्धनका लागि १० लाख, दिवस पर्व, उत्सव समारोह तथा आकस्मिक कार्यक्रमको लागि ५ लाख, ल्याण्डफिल साईट प्रभावित क्षेत्रबासी योजनाका लागि १० लाख, सञ्चार क्षेत्र विकास कार्यक्रमका लागि १० लाख, खेलकुद प्रर्वद्धन कार्यक्रमका लागि १५ लाख छुट्याइएको छ ।
यस्तै सहकारी प्रर्वद्धनका लागि १० लाख, विद्युत पोल तथा पाइपलाईन संरक्षण र व्यवस्थापनका लागि २० लाख, दाह संस्कार स्थल निर्माण तथा व्यवस्थापन सहकार्यका लागि ५ लाख, विविध अत्यावश्यकीय योजनाका लागि १ करोड ४८ लाख, खानेपानी संरचना निर्माण ४० लाख र ऋण साँवा फिर्ता ६० लाख रहेको छ ।
नगरपालिकाले आगामि आर्थिक वर्षका लागि स्वीकृत करलाई निरन्तरता दिंदै करदाता र करको दायरा विस्तारको नीति लिने, वडाको आन्तरिक आयलाई वडा समितिको निर्णय बमोजिम ७५ प्रतिशत खर्च गर्न सक्ने व्यवस्था गरेको छ ।
प्रस्तुत बजेटमा अपांगमैत्री व्यक्तिगत भवन निर्माणको नक्शा पास दस्तुरमा २५ प्रतिशत छुट, महिला तथा दलित र अपांगद्वारा सञ्चालित विभिन्न स्थानीय कच्चा पदार्थमा आधारित व्पापारमा २० प्रतिशत छुट, नियमित रुपमा समयमा कर बुझाउने प्रत्येक वडाका एक एक जना करदातालाइ सम्मान गर्ने, नगरभित्रका उत्कृष्ट कृषकलाई सम्मान गर्ने, प्रत्येक वडामा हाटबजारको व्यवस्था गर्ने, नगरपालिकालाई दुध र मासुमा आत्मनिर्भर बनाउनको लागि भैंसी, बाख्रा, गाई, कुखुरा पालन व्यावसायलाई प्रोत्साहन र खोर गोठमा अनुदानको व्यवस्था लगाएतका नीति लिएको छ ।
नगरपालिकाले सामाजिक नीति अन्र्तरगत महिला तथा बालबालिका सम्बन्धमा समृद्ध वीरेन्द्रनगरको आधार, एक घर एक महिला स्वरोजगार भन्ने नारा सहित महिला, दलित, जनजाति, हिंसा पीडित महिलालाई बस्तुगत टेवा सहित सीप विकास तालिम दिई आयआर्जनमा संलग्न गराइने, महिला विकास कार्यक्रमलाई निरन्तरता दिने, हिंसा प्रभावित महिलाका लागि सुरक्षित आवास भवनको व्यवस्था, छोरी जन्म बचतलाई निरन्तरता दिने, बालविवाह अन्त्यका लागि विद्यालय स्तरीय अभियान, नगर क्षेत्र भित्रका गर्भवती महिलालाई अस्पतालसम्म पुर्याउनको लागि एम्बुलेन्स खर्च उपलब्ध गराइने लगाएतका कार्यक्रम अघि सारेको छ ।
त्यस्तै बालमैत्री कक्षाकोठा व्यवस्थापन, नगर स्तरीय खेलकुद प्रतियोगिता, शैक्षिक सूचना मैत्री नगर निर्माण लगायतका योजना समेत सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस्