१९ असार । साथीहरुले बृद्धभत्ता बुझ्दा मंगलमायालाई आफूले पनि पाए ! जस्तो लाग्छ । तर किन नपाएको भन्ने थाहा छैन । उनलाई न आफ्नो घरको पूरा ठेगाना थाहा छ न उमेर ।
काभ्रे घर बताउने मंगलमाया घिमिरे ६ वर्ष देखि सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति वृद्धाश्रममा छन् । न आश्रमले उनलाई ल्यायो न उनी आश्रम खोज्दै आइन् । उनको 'पसिना खाएका'हरुले आश्रमको गेटमा छोडेर गए । जतिबेला उनी देख्न सक्दिनथिन् ।
‘सुर्खेत आउँदा म तरुनी थिएँ । माइजूसंग कुरा गरेर न्यायाधीशले आफ्नो घरमा काम गराउन प्लेन चढाएर ल्याएका हुन्’, मंगलमायाले सेरोफेरोसंग भनिन् । त्यतिवेला उनी काठमाडौंको डिल्लीबजारमा माइजूसंग बस्थिन् ।
बुवाको नाम बाबुराम घिमिरे हो अरुका बारे थाहा छैन । धुलिखेलबाट एक बिहानको बाटो हिंडेपछि आफू जन्मिएको घर पुगिने उनले बताइन् ।
आश्रमले अहिलेसम्म आश्रय लिन आएका तीन जना जेष्ठ नागरिकलाई नागरिकता दिलाउन सहयोग गरेको छ । आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार मंगलमायाको ठेगाना पत्ता नलाग्दा नागरिकता बनाउन सकिएन । उनले भने, ‘त्यहाँको तत्कालिन जिल्ला विकास समितिसंग पनि कुरा गरें । जेष्ठ नागरिक महासंघ मार्फत् पनि खोजी गरियो तर उहाँको ठेगाना पत्ता लगाउन सकेनौं ।’
सुर्खेतका प्रमुख जिल्ला अधिकारीले मंगलमायालाई नागरिकता दिलाउन आवश्यक सहयोग गर्ने जनाएका छन् । केही दिन अघि मानवअधिकार आयोगद्वारा वीरेन्द्रनगरमा आयोजित बृद्धाश्रम/जेष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रित जेष्ठ नागरिकहरुको अवस्था विषयक अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले मंगलमायाको नागरिकताको लागि स्थानीय तहबाट प्रक्रिया पूरा गरेर ल्याए नागरिकता दिन सकिने बताए ।
‘पञ्चायत कालमा मेरो घरमा बस्ने फलानो भनेर पनि नागरिकता बनाउन मिल्थ्यो । चाहेको भए न्यायाधीशले उतिबेला नै बनाइदिन सक्थे’, आश्रमका अक्षय कोष अभियान उपसमितिका संयोजक भद्र भण्डारीले भने– ‘उतिबेला सही ठेगाना भन्न सक्थिन् होला तर कसैलाई वास्ता नै भएन ।’
सुर्खेतका तत्कालीन जिल्ला न्यायाधीश दलबहादुर रावलको घरमा काम गर्दै गर्दा बनारसबाट मजदुरीका लागि आएका पण्डित भनिने एक व्यक्तिसंग मंगलमायाले विवाह गरिन् । श्रीमानको मृत्यु पश्चात् अरुकै घरमा काम गर्दै आएकी मंगलमायाको मोतिबिन्दुबाट आँखाको ज्योति गुमेपछी घरधनीले उनलाई आश्रमको गेटमा छोडीदिएका थिए ।
जीवनभर अरुकै घरमा पसिना बगाएकी मंगलमायासंग न त सम्पत्तिको नाममा केही छ न नागरिकको परिचय । बुढेसकालमामा उनको साहारा बनेको छ प्रशान्ति । भन्छिन्– ‘अहिले त साथीहरु पनि छन् । आश्रमले आँखाको अप्रेशन गरेर देख्न सक्ने बनाएको छ । खुशी छु ।’
प्रशान्ति बृद्धाश्रममा हाल काभ्रे, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोटका जेष्ठ नागरिकहरु छन् । जुम्लाका सात जेष्ठ नागरिकलाई भाषा र संस्कार नमिल्दा समायोजन हुन नसकेर फिर्ता पठाइएको आश्रमले जनाएको छ ।
प्रतिकृया दिनुहोस्