२१ असार । सरकारले सात वटा प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवाको पालामा नियुक्त गरिएका प्रदेश प्रमुखहरुलाइ हटाउने निर्णय गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।
प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन हुँदासम्मका सबै राजनीतिक नियुक्ति फिर्ता लिने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा निर्वाचनको आचार संहिता लागू भएको भदौ १४ देखि नयाँ सरकार बनेको फागुन ३ बीचका गरिएका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको हो।
देउवा नेतृत्वको सरकारले माघ ३ गते सातवटा प्रदेशमा प्रमुखहरू नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश सातमा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।
मन्त्रिपरिषद्ले प्रदेश प्रमुख हटाउन गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछि उनीहरू पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
प्रतिकृया दिनुहोस्