३१ असार । सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २७ वर्षीय ओमप्रकाश बाँनिया साइकल यात्राका क्रममा रुकुम पुगेका छन् ।
प्रदेश नं. १ लाई चिनाउन र देशमा शान्ति र समृद्धिको सन्देश फैलाउनका लागि गत बैशाख १९ गते सुनसरीबाट साइकल यात्रा सुरु गरेमन बाँनिया रुकुम पश्चिमको मुसिकोट र रुकुम पूर्वको रुकुमकोट पुगेका हुन् ।
अहिलेसम्म ४३ जिल्ला पुगिसकेको र अबको दुई महिनामा ७७ जिल्ला पुगेर सबै जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न पुस्तक प्रकाशन गर्ने उनले बताए । नेपालको राष्ट्रिय झण्डा फहराउँदै यहाँ पुगेका बाँनियाले मुसिकोट नगरपालिका र पूर्वी रुकुमको सिस्ने गाउँपालिका पुगेर आफ्नो अभियानबारे जानकारी समेत गराए ।
भेटका क्रममा मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतम र सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले जिल्ला पुगेको पत्र उपलब्ध गराउँदै यात्रा सफलताको कामना गरे । साइकल यात्री बाँनिया दुवै रुकुमको यात्रा सकेर शनिबार जाजरकोट प्रस्थान गरेका छन् ।
विश्व साइकल यात्री पुष्कर शाहबाट अभिप्रेरित भएर आफू यस यात्रामा अग्रसर भएको उनको भनाई छ । ‘यात्राका क्रममा दैनिक ९ सयसम्म व्यक्तिगत खर्चमा ६ महिना लगाएर ७७ जिल्ला घुम्दा २ लाख ७५ हजार खर्च हुने अनुमान गरेको छु ।’ उनले भने,–‘कतिपय जिल्लामा मेरो यात्राबाट प्रभावित भएर स्थानीय तह र व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त हुने भएकोले खर्च कम हुने आशा छ ।’ उनका अनुसार पछिल्लो समय सल्यानको बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले दश हजार रुपैयाँ सहयोग गरे ।
उच्च शिक्षा हासिल गरेका बाँनिया ५ बर्ष बैदेशिक रोजगारीका लागी कतार बसेको र त्यहाँ फर्किएपछि राष्ट्रियताको लागि केही गर्ने अठोट लिएर आफूलाई यो सोच आएको बताए । अहिले वर्षातको समय भएकाले ठाँउ ठाँउमा बाटो अबरुद्ध हुँदा ७७ जिल्लाको यात्रा केही समय लम्बिन सक्ने उनको अनुमान छ ।
प्रतिकृया दिनुहोस्