३१ असार । सल्यानका किसानहरु बाख्रापालनबाट आत्म निर्भर बन्दै गएका छन् । व्यवसायिक रुपमा बाख्रापालन गर्ने किसानहरुका लागी जिल्ला पशु सेवा कार्यालयले समेत प्राविधिक सहयोग गर्दै आएको छ ।
कालीमाटी गाउ“पालिका ५ काल्चे स्थित दम्दवालीका सुरेश गाहा मगर पेसाले शिक्षक हुन । तर उनले ०७० देखि बाख्रापालन व्यवसायमा हात हाले । सुसान्त एवम सुशांक एग्रिकल्चर फर्म खोलेर व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन । शुरुमा नौ वटा बाख्रा पाल्न सुरु गरेका उनीसंग अहिले एक सय ८ वटा उन्नत जातका खसिबोका, बाख्रा र पाठापाठी रहेका छन ।
बाख्रापालन व्यवसायलाई बढि प्राथमिकता दिएका उनले यो व्यवसायबाट बार्षिक ५ लाख आम्दानी गर्दै आएको बताए । नजिकै वनजंगल हु“दा घासको समस्या नभएकाले खासै दुःख गर्न नपर्ने र बिक्रि गरेपछि तुरुन्तै पैसा आउने भएकाले ब्याबसायिक बाख्रापालनमा लागेको उनको भनाई छ ।
उनले बाख्रालाई खुवाउन उन्नत जातको घांस ३० हेक्टर क्षेत्रफलमा लगाएका छन् । केही दिन पहिला मात्र जिल्ला पशु कार्यालय सल्यानका प्रमुखले बाख्रा र घांसको स्रोत केन्द्रको स्वीकृति दिएपछी आगामी वर्षदेखी अझै मुनाफा लिन सकिने आत्मविश्वास उनको छ ।
‘सुरुवातमा केही समस्या देखिएपनि अहिले छैन’ उनले भने ‘केहीसमस्या परेमा जिल्ला पशु कार्यालय सल्यान र किसानका लागी उन्नत विउ विजन कार्यक्रमले सहयोग गर्दै आएको छ ।’ उनका अनुसार बोका, बाख्रा बिरामी भएमा पशु कार्यालयका प्राबिधिकले उपचारमा सहयोग गर्छन । अहिले आफु संग शुद्द बोयर जातको एक बोका र एक पाठी रहेको जानकारी गराउदै उनले यस बाट थप नयाँ उत्पादन लिन सक्ने जनाए ।
यस्तै शारदा नगरपालिका ८ मार्केका जीवराज बोहराले सृजनसिल बाख्रा फर्म खालेर व्यावसायिक बाख्रापालन गरेका छन । अहिलेसम्म ७० वटा खसि, बोका, बाख्रापालन गरेका उनले पनि वार्षिक ३ लाख जति आम्दानी गर्दै आएका छन । बाख्रापालन गर्दै आएपछि ६ जनाको परिवार सजिलै पाल्दै आएका उनले थप दुईजनालाई रोजगारी समेत दिएका छन ।
कुमाख गाउ“पालिका २ स्विकोटकी सम्झना बुढाथोकीले व्यावसायिक बाख्रापालनमा लागेपछि राम्रै आम्दानी गरिरहेकी छन् । यसमा लागेपछि परिवार पाल्न सहज मात्र नभई केही आम्दानी भएको रकम बचत गर्ने अबसर मिलेको उनले जानकारी गराईन ।
‘पहिला चार/पाँचवटा पाल्थें खासै कमाई हुन्थेन । बिक्रि गर्दा घरखर्च चलाउन गाह्रो हुन्थ्यो । आफुलाई आवस्यक परेको सामग्री किन्न धौ धौ हुन्थ्यो’ उनले भनिन् ‘अहिले व्यावसायीक रुपमा पाल्न थालेपछी सजिलो भएको छ ।’
किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम अन्तर्गत जिल्लामा अहिले ५५ किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । सल्यानको कुल जनसंख्याको ८० प्रतिशतले बाख्रापालन गर्दै आएको जिल्ला पशु कार्यालय सल्यानका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।
‘यहाँका किसानले बाख्रा पालनलाई व्यवसायिक रुपमा अंगालेपछि विगत दुई बर्षको अबधिमा हामीले झन्डै २ सय बयर जातका उन्नत बोका, पाठी बितरण गरेका छौं ।’ उनका अनुसार बाख्रापालनबाट जिल्लाका किसानहरु आत्मनिर्भर बन्दै गएका छन । जिल्लाभरी अहिले ५ लाख ४७ हजार ५ सय ९४ खसिबोका रहेका छन ।
हाल जिल्लाका ५५ जना किसानले जिल्ला पशु कार्यालय सल्यानको १० लाख अनुदानबाट सुधारिएको गोठ निर्माण गरी व्यावसायिक बाख्रापालनमा लागेर आत्मनिर्भर भएका छन । उनीहरुले आम्दानी गरेको रकमबाट परिवार पाल्ने मात्र नभई छोराछारीले चाहे अनुसारको शिक्षा दिन सक्ने भएका छन् ।
यसका अलावा सल्यानका किसानले घाँस खेती गरेर त्यसबाट समेत राम्रो कमाई गर्दै आएका छन ।
प्रतिकृया दिनुहोस्