Birendranagar Municipality

वीरेन्द्रनगरमा आतंक मच्चाउने चितुवालाई छोपेर बाँके पठाइयो

सेरोफेरो/सुर्खेत
वीरेन्द्रनगरमा आतंक मच्चाउने चितुवालाई छोपेर बाँके पठाइयो

३ साउन । वीरेन्द्रनगर नगरपालिका ११ मा घर पालुवा जनावरहरु खाएर १२ दिन देखी सास्ती दिइरहेको एक चितुवालाई समातिएको छ । जिल्ला वन कार्यालय सुर्खेतको आग्रहमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको विज्ञ टोलीले चितुवालाई बुधबार साँझ पासोमा पारेको हो ।

 

चितुवाले वीरेनद्रनगरको सुब्बाकुना र अमृत डाँडामा गरी १० बाख्रा र ३ कुकुरलाई मारेको थियो भने १ गाइलाई घाइते बनाएको जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख हेमराज विष्टले सेरोफेरोलाई बताए ।

 

खोरमै आएर बाख्रा मार्न थालेपछि बाघको आशंकामा स्थानीयले जिल्ला वन कार्यालयलाई एक हप्ता अघि जानकारी गराएका थिए । वन कार्यालयले थप सतर्क हुनको लागि स्थानीयलाई आह्वान गरेको थियो । ‘मानवीय क्षति गर्नसक्ने कुरालाई ध्यानमा राखी चितुवालाई ट्रयापमा पारेका हौं,’ प्रमुख विष्टले भने । समातिएको चितुवालाई व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको उनले बताए ।

 

विष्टका अनुसार विज्ञ टोलीले शुरुमा वनमा क्यामरा राखी आतंक मच्चाउने जनावर र त्यो हिंड्ने बाटो पत्ता लगायो । त्यसपछि खोरमा पारेर चितुवालाई समातिएको हो ।

 

‘चितुवा भाले रहेछ । यो जातिले वनमा लखेटेर रतुवा, जरायो लगाएतको शिकार गर्छ, जुन गाह्रो काम हो । गाउँमा सजिलै आहारा भेट्टाएपछि जंगल जान मान्दैन,’ विष्टले भने ‘यसले पौडी खेल्ने, रुख चढ्ने गर्छ । घरपालुवा जनावर मार्दा आवाज आउँदा मान्छेहरुले लखेट्ने भएपछि भोक नमेटिने भयो । यस्तो हुँदा मान्छेलाई पनि हान्न सक्छ भनेर बाँके पठाइयो ।’

 

बेहोश पारिएको चितुवालाई निकुञ्जको बीचमा लगेर छोडिने र होश खुलेपछि त्यसले पुरानो बाटो बिर्सने भएकाले अब यहाँका बासिन्दालाई ढुक्क हुन पनि विष्टले आग्रह गरेका छन् । थप क्षति हुनबाट जोगिएपछि स्थानीयबासी खुशी भएका छन ।

२०७५ साउन ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्