५ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा एकवर्षमा ४ सय ५९ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा भएका १३ सय ७६ वटा घटना मध्ये ४ सय ५९ वटा घटना घरेलु हिंसाका मात्रै दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
मानसिक यातनाका २ सय ७४ वटा घटना, आर्थिक यातनाका ९६ घटना, मदिरा सेवन गरी शारीरिक यातनाका ८९ गरी जम्मा ४ सय ५९ वटा घटना घरेलु हिंसाका मात्रै दर्ता भएको कार्यालयले जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले उक्त जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख उमाप्रसाद चतुर्वेदीले भने, ‘सुर्खेत जिल्लामा महिला माथि हुने घरेलु हिंसाको दर बढ्दो छ । जसका कारण महिलाहरु आत्माहत्या गर्न बाध्य समेत भएका छन् ।’
जिल्लामा भएका ९२ आत्माहत्याका घटना मध्ये महिलाको संङ्ख्या ५९ रहेको छ । त्यसमा पनि धेरैले झुण्डिएर आत्माहत्या गरेका छन् । झुण्डिएर आत्माहत्या गर्ने ७१ मध्ये ४६ महिला छन् । त्यस्तै बिष सेवन गरी आत्महत्या गर्ने २१ मध्ये १३ महिला छन् ।
यस बर्ष सुर्खेतबाट २०६ महिला हराएकोमा ११३ फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै हराउनेमा बालक ७८ जना र बालिका ४३ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका विभिन्न १३७६ मुद्दामध्ये १०४६ वटा फर्छयौट भएको पाइएको छ । बाँकी ३३० मुद्दामध्ये धेरैजसो मेलमिलापमा गएकोले प्रहरी कार्यालयमा सम्पर्कमा नआएको पनि चतुर्वेदीले बताए ।
प्रतिकृया दिनुहोस्