६ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बवई डाईभर्सन वहुउद्धेश्यीय आयोजना कर्णाली प्रदेशका लागि नमुना आयोजना हुने बताएका छन् ।
शनिवार आयोजना निर्माण कार्यको अनुगमण तथा निरिक्षण पछि पत्रकारहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा सडक निर्माण तथा विद्युत उत्पादनका लागि सुरुङ्गको प्रयोग जरुरी रहेको वताउदै भेरी बवई डाईभर्सन आयोजना निर्माणको अनुभवले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारले सुरुङ्गवाटै भुरीगाँउ सुर्खेत सडक निर्माण गर्ने योजना वनाएको र चालु आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने बताए । त्यसैगरि ५ नं. प्रदेशको जमुनाहा कोहलपुर सुर्खेत हुँदै हिल्सा सम्मको सडक निर्माणको लागि पनि प्रदेश सरकार लागि परेको जानकारी दिए । भने ‘महत्वकाँक्षी सोच, आधुनिक प्रविधि, कर्तव्यनिष्ट मानवीय जनशक्तिको प्रयोग भएमा कर्णाली प्रदेशको विकास र समृद्धि टाढा छैन । प्रदेश सरकार दृढ ईच्छाशक्ति र महत्वकाँक्षी सोच सहित अगाडि वढेको छ ।’
तिव्र गतिमा विकासका लागि योजना निर्माण र कार्यान्वयनको पुरानो प्रक्रिया र कानुन पनि बाधक रहेको बताउँदै सार्वजनिक खरिद ऐनलाई पनि समयानुकुल परिवर्तन गर्नुपर्ने उनको भनाई छ ।
‘ठुला आयोजनाको टेण्डर गर्दा १ महिनाको समय दिनुपर्ने कानुनी प्रावधान अहिले विद्यमान छ ।’ मुख्यमन्त्री शाहीले भने ‘सुचना प्रविधिको विकासले सेकेण्डभरमै विश्वका कुनै कुनामा पनि सहज पहुँच बनेको छ, यातायातको विकासले महिनौं लाग्ने ठाउँमा एक दिनमै पुग्न सकिने भएको छ, अनि टेण्डर वुझाउन किन एक महिना समय दिने ?’ योजना कार्यान्वयनका लागि दिईने समयाअवधि पनि घटाउनु पर्नेमा उनको जोड छ ।
भेरी ववई डाईभर्सन वहुउद्धेश्यीय आयोजनाको लाभ वितरणका सम्वन्धमा पत्रकारले राखेको जिज्ञासामा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको प्राकृतिक श्रोत, कर्णाली प्रदेशमै आयोजना निर्माण हुने भएकोले लाभको पहिलो हकदार कर्णाली प्रदेशकै नागरिक हुने धारणा राखे ।
प्राकृतिक श्रोत साधनको उपयोगका सम्वन्धमा संविधानमा प्रष्ट व्यवस्था रहेको वताउदै मुख्यमन्त्री शाहीले भन्छन् ‘जलविद्युतवाट प्राप्त हुने लाभ कर्णालीका नागरिकले पाउनुपर्छ, सिंचाईको लाभ छिमेकी प्रदेशले लिन्छ ।’ यसको लागि केन्द्र सरकारसंग आवश्यक समन्वय भईरहेको पनि उनले स्पष्ट पारे ।
भेरी नदिको पानीलाई १२ किलोमिटर सुरुङ्ग मार्फत बवईमा डाईभर्सन गरि बाँके र वर्दियाको ५१ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने र ४६ मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । आयोजना निरिक्षणका क्रममा आयोजना निर्देशक शिवकुमार वस्नेतले १२ किलोमिटर लामो सुरुङ्ग मध्ये हालसम्म ५८५० मिटर सुरुङ्ग निर्माण सम्पन्न भएको जानकारी दिए ।
चाईना ओभरसिज ग्रुप कम्पनी लिमिटेडद्धारा निर्माणाधिन आयोजनामा नेपालमै पहिलो पटक टनेल वोरीङ्ग मेशिन (टीवीएम)को प्रयोग मार्फत सुरुङ्ग निर्माण कार्यभईरहेको जानकारी दिदै निर्देशक वस्नेतले लक्ष्य अगावै निर्माण कार्य पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘प्रतिदिन १५ देखि २० मिटर निर्माणको लक्ष्य भएपनि अहिले अधिकतम प्रतिदिन ६० मीटरसम्म सुरुङ्ग निर्माण गरेको रेकर्ड हामीसंग छ ।’ निर्देशक वस्नेतले भने ‘निर्माण कार्य शूरु भएको छोटो समयमै ४९ प्रतिशत निर्माणकार्य पुरा भएको छ, अवको केही महिना भित्र सुरुङ्ग निर्माण कार्य पुरा हुन्छ ।’
प्रतिकृया दिनुहोस्