Birendranagar Municipality

मंगलमायाले पाइन् ७५ वर्षमा नागरिकता, छोरा जस्ता बालकृष्ण बने संरक्षक

सेरोफेरो/सुर्खेत
मंगलमायाले पाइन् ७५ वर्षमा नागरिकता, छोरा जस्ता बालकृष्ण बने संरक्षक

६ साउन । रातो चोली, निलो फरिया, कम्मरमा पहेंलो रङको पटुकी, टाउकामा सफा रुमाल, गलामा पोते, नाडीमा हरियो र पहेंला रंङका चुरा, आँखामा चस्मा, हंसिलो अनुहार । देख्दा लाग्छ एउटा सुखी परिवारमा राम्रो स्याहार र सम्मानमा बाँचेकी एक जेष्ठ नागरिक ।


किशोरावस्थामा कामको लागि सुर्खेत आएकी उनले जीवनभर अरुकै निम्ति पसिना बगाइन् । युवा अवस्थाका धेरै वर्ष सुर्खेतका तत्कालीन जिल्ला न्यायाधीश दलबहादुर रावलको घरेलु कामदारका रुपमा रहिन् ।


एक मजदुरसंग विवाह गरेकी मंगलमाया घिमिरेका श्रीमान् बितेपछि आफ्नो भन्नलाई शरीर बाहेक केही रहेन उनीसंग । अरुकै काम गरेर दिन गुजारिन् ।


बुढेसकालसंगै जब आँखाको ज्योति गुम्यो । त्यसपछि उनको पसिनाका ‘हकदार’ले आश्रमको गेटमा लगेर छाडिदिए । त्यसबेला उनलाई लाग्यो, ‘मर्न पाए पनि हुन्थ्यो । मलाई किन काल आउँदैन?

20180721_141929

तर परिस्थिति बदलियो । जीवनका मिठा पल अहिले लाग्दैछ रे उनलाई । भन्छिन ‘धेरै बाँच्न पाउँ जस्तो लाग्छ ।’


काभ्रेमा जन्मिएकी मंगलमाया काठमाडौंबाट जहाज चढेर सुर्खेत आएकी थिइन । भन्छिन् ‘अहिले त गाडी चल्छन्, सिमेन्टीका घर बनेका छन् । धेरै परिवर्तन भयो ।’ पछिल्ला ६ वर्ष देखि समयको परिवर्तनसंगै उनका दुःख पनि हराउँदै गएका छन् ।


उनका अनुसार प्रशान्ति बृद्धाश्रमले बुढेसकालको साहारा मात्र हैन गुमेको ज्योति समेत फर्काइदियो । जीवनका अधुरा रहर पूरा गर्ने अवसर सिर्जना गरिदियो ।


आश्रममा उनीजस्तै परिवार र समाजबाट एक्लिएका ८ जना छन् । जो उनका नजिकका साथी बनेका छन् । त्यो भन्दा नजिक आश्रमका सञ्चालकहरु ।

 

उनी जस्तै ७० नाघेका अरु साथीलाई सरकारले पैसा दिन्छ, उनी छक्क पर्छिन । आश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठसंग सोध्ने आँट पनि आउँदैन मैले किन पैसा नपाएको भनेर ।


यता श्रेष्ठले उनी आश्रममा आएदेखि नै उनको स्थायी ठेगाना पत्ता लगाउन प्रयास गरिरहेका थिए । श्रेष्ठले भने, ‘नागरिकता बनाउनको लागि विभिन्न च्यानल प्रयोग गरेर काभ्रेमा उहाँको घर ठेगाना पत्ता लाउन कोसिस गरें तर सकिएन ।’

 

जीवनको उत्तरार्द्धसम्म पनि यो देशको नागरिक बन्न नपाएकोमा दुःख छैन र्मगलमायालाई । तर, आफ्नै हातले साथीले जसरी पैसा गन्न चाहन्छिन् उनी ।


संयोगले आश्रमका आजीवन सदस्य उत्तम शर्मा जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रशासकीय अधिकृत भएर आए । श्रेष्ठले मंगलमायाको नागरिकता नबनेको कुरा निवेदन गरे ।


मंगलमायाको कोही परिवार तथा आफन्त पत्ता नलागेपछि अध्यक्ष श्रेष्ठ आफै संरक्षक बनेर अन्ततः मंगलमाया नेपाली नागरिक भइन् । ‘नागरिकताको मुल ढड्डामा आमा जस्ती मान्छेको संरक्षकको रुपमा आफ्नो नाम लेख्दा म भावुक भएँ,’ श्रेष्ठले सेरोफेरोसंग भने, ‘त्यस दिन साँझ खुशीले खाना पनि खाइन । यसै भरीयो मन । ठूलो काम गरेको जस्तो महशुस भयो ।’

 

मंगलमायाको नागरिकतामा बुवा, आमा, पतिको नाम र ठेगाना खाली छ । नागरिकताको किसिम भने बंशज ।


‘कानूनी रुपमा अफ्ठेरो चाहिं थियो । तर ७५ वर्ष सम्म पनि नागरिकको परिचय नहुनु दुःखको कुरा हो । आश्रमका अध्यक्षको संरक्षकत्वमा नागरिकता दियौं,’ अधिकृत शर्माले भने ।


यसैपनि शनिबार भजन कृतनले गुन्जायमान हुने आश्रममा हिजो भने निकै चहलपहल थियो । धेरै उत्साही त मंगलमाया थिइन् । सोही अवसरमा मंगलमायालाई आश्रमका अगुवा र प्रशाकिय अधिकृतले सामूहिक रुपमा नागरिकता हस्तान्तरण गरे ।


मंगलमायाको अनुहारमा मुस्कान आयो । 

20180721_153916

गत शुक्रबार उनले नागरिकता पाएसंगै उनको बृद्ध भत्ताको प्रक्रिया समेत शुरु भएको छ । नियमानुसार ७० वर्ष पुगिसकेका व्यक्तिले अघिल्लो वर्ष नै बृद्ध भत्ताको लागि निवेदन दर्ता गराउनु पर्छ ।


वीरेन्द्रनगर नगरपालिका ३ का सचिव कमल आचार्यका अनुसार मंगलमायाले ढिलो निवेदन दर्ता गरेपनि उमेर पूरा भएकोले यसै आर्थिक वर्षको दोस्रो किस्ताबाट लागू हुनेगरी प्रक्रिया मिलाउन कोशिस गरिने बताए ।


आश्रममा आउने जेष्ठ नागरिकहरु सकेसम्म जीवनका अधुरा रहर पुरा गर्ने चाहना राख्ने गरेको आश्रमका उपाध्यक्ष शीतलसिंह राठौरले बताइन् । ‘खासगरी महिलाहरुले आफ्नो संस्कृति अनुसारका सुनका गहना लगाउन मन गर्छन भने पुरुषहरु घडी र कपडा ।’ बृद्धभत्ताबाट प्राप्त हुने रकमबाट उनीहरुले सुनका तिलहरी, जन्तर, बुलाँकी लगायतका गहनाहरु बनाउने गरेका राठौरले बताइन् ।


मंगलमायालाई पनि बृद्धभत्ताको रकम आयो भने सुन लगाउने इच्छा छ ।

 

यो पनि पढ्नुहोस् :

न्यायाधीशको ‘नोकर्नी’ थिएँ, नागरिकताबारे थाहा छैन

२०७५ साउन ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्