९ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आँगिक क्याम्पसका रुपमा समायोजन हुन लागेका विभिन्न क्याम्पसमा धमाधम नियुक्ति बाँडिएको छ ।
सामूदायिक क्याम्पसबाट सरकारी क्याम्पसमा स्तरोन्नति हुन लागेको बेला ती क्याम्पसमा मनोमानी ढंगले शिक्षक तथा कर्मचारी नियुक्त गरिएको खुलेको छ ।
क्याम्पस समायोजनका लागि विश्वविद्यालयबाट अनुगमन चलिरहेको बेला यस्तो भेटिएको हो । स्रोतका अनुसार ति क्याम्पसका क्याम्पस प्रमुखहरुले माथिको आदेश भन्दै शिक्षक तथा कर्मचारीलाई करार नियुक्ति दिएका हुन् ।
कहाँ कहाँ भए नियुक्ति ?
बर्दियाको बबई बहुमुखी क्याम्पसमा त्यहीं कार्यरत आँशिक शिक्षक लक्ष्मण घिमिरे र उमेश गुप्तालाई यही असारमा उपप्राध्यापक पदमा करार गरिएको छ ।
यसैगरी सावित्री चापागाईं र विद्या गौतमलाई कर्मचारीतर्फ नियुक्त गरिएको छ । पहिला स्वयंसेवा गरिरहेका कर्मचारीहरुलाई नै करार नियुक्ति दिइएको क्याम्पस प्रमुख विनोद अग्रवालले बताए ।
भने ‘सामूदायिक क्याम्पस भएकाले हामीले विज्ञापन बिनानै उनीहरुलाई नियुक्ति दिएका हौं । यो क्याम्पसको विधान सम्मत् हो ।’ स्रोतका अनुसार नियुक्त गरिएका दुवै कर्मचारीलाई विश्वविद्यालयका एक पदाधिकारीको उच्च दबावमा नियुक्ति गरिएको हो ।
सोमबार अनुगमनमा गएको विश्वविद्यालयको टोलिले नाम अनुसारका शिक्षक तथा कर्मचारीको खोजी गर्दा ति दुबै कर्मचारी उपलब्ध हुन सकेनन् । लगत लिने क्रममा टोलिले अन्य कर्मचारीहरुसंग स्वयम्सेवा गरिरहेको भनिएका नवनियुक्त दुई कर्मचारीको बारेमा बुझ्दा कसैले नचिन्ने र कर्मचारी नियुक्त भएको कुरा पनि जानकारी नभएको बताएपछि उनीहरुको नाम लगतमा समाबेश नगरी फर्किएको छ ।
यस विषयमा क्याम्पस प्रमुख अग्रवालसंग बुझ्दा ‘यो च्याप्टर क्लोज भइसकेको कुरा हो’ भनि तर्किए ।
केही दिन मात्र अघि मप विश्वविद्यालयबाट बबई बहुमुखी क्याम्पस अनुगमनका लागी प्राडा दिप बहादुर रावलको टोली बर्दिया पुगेको थियो ।
यस्तै सुर्खेतको विद्यापुर जनता बहुमुखी क्याम्पसमा पनि जागीर खुवाउने नियतका साथ ३ जनालाई नियुक्त गरिएको छ । यसरी नियुक्त हुनेमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टका आफन्त पर्ने भूमि विष्ट र तत्कालिन निजी सचिव दिपक विसीलाई कर्मचारीमा नियुक्त गरिएको छ ।
यसैगरी पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाका भाई टंक थापालाई शिक्षकमा नियुक्त गरिएको छ । उक्त क्याम्पसमा कर्मचारी र शिक्षकको नियुक्ति बिज्ञापन बिना नै गरिएको हो ।
क्याम्पस प्रमुख इन्द्रा पौडेलले कर्मचारी अपुग भएकाले व्यवस्थापन समितिको निर्णयमा उक्त नियुक्ति गरिएको बताइन् ।
तर उक्त क्याम्पसको अनुगमन गर्न विश्वविद्यालयबाट गएका बिरबहादुर पौडेल भने यो विषयमा जानकार छैनन् । ‘सबै शिक्षक कर्मचारीको नियुक्ति, स्यालरी सिट र व्यवस्थापन समितिको निर्णय ल्याउनु भनी पठाए बमोजिमको सूचना संकलन गरी ल्याएका छौं । को कति समयमा नियुक्ति भएको भन्ने त्यसमै होला’ पौडेलले भने ‘पछिल्लो समयमा नियुक्ति गरिएका शिक्षक, कर्मचारीको बारेमा ठ्याक्कै हामीलाई थाहा छैन ।’ आफुहरुले अनुगमनमा भेट्टाएको सुचना प्रतिवेदनमा समावेश गरी बुझाइने उनले बताए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कर्णाली प्रदेशका विभिन्न ७ क्याम्पस र प्रदेश ५ का ३ गरी जम्मा १० क्याम्पसलाई पहिलो चरणमा आँगिक बनाउन लागेको छ । यही मौकामा आफ्ना मान्छेलाई जागीर खुवाउन विश्वविद्यालयका पदाधिकारीहरुकै मिलेमतोमा नियम मिचेर यस्ता नियुक्तिहरु भएको पाइएको छ ।
७१ सालमा आंज्ञिकको लागि मप विश्व विद्यालयले विभिन्न क्याम्पसबाट आशय पत्र मागेको दियो । नियमानुसार आशय पत्र पेश गरेपश्चात नियुक्ति गरेका कर्मचारी र शिक्षक समायोजन अन्तर्गत पर्दैनन् ।
यस विषयमा मप विश्वविद्यालयका रजिष्टार डाक्टर महेन्द्र कुमार मल्ललाई सोध्दा आंगिक हुन प्रक्रियामा रहेका क्याम्पसहरुलाई शिक्षक तथा कर्मचारीहरु नियुक्ति नगर्न भनि करिब दुई महिना अघि सबै क्याम्पसमा परिपत्र गरिइएको थियो । तर यसको विपरीत क्याम्पसहरु विज्ञापन बिनै नियुक्ति बाँडिरहेका छन् ।
‘आशय पत्र बुझाएको भन्दा पछि नियुक्ति भएका शिक्षक कर्मचारीहरुलाई हामी छानविन गर्छौं’ रजिष्टार मल्लले भने ‘दुई महिना अघि नियुक्ति नगर्न निर्देशन गरेका थियौं, अब तीनलाई के गर्ने भन्ने बारेमा कार्यदलले नियम बनाइ विश्व विद्यालयको सिनेटबाट नियमावली पास गरेर राख्ने नराख्ने भन्ने निर्णय हुन्छ ।’
तर भाषणमा विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउने भनेपनि तिनै पदाधिकारीले चोर बाटो समातेर आफू अनुकुलका शिक्षक कर्मचारी नियुक्तिको क्याम्पस प्रमुखहरुलाई आदेश दिएको विश्व विद्यालयका एक शिक्षकले बताए । आफू चार वर्ष देखि आंशिक शिक्षकको रुपमा काम गरिरहेको बताउने ती शिक्षकले थपे ‘हाम्रो बारेमा कुनै वास्ता छैन । पदाधिकारीहरुले सक्छन् भने केन्द्रिय क्याम्पसका हामी जस्ता शिक्षक कर्मचारीलाई करार गरुन् ।’
विश्व विद्यालय स्थापनकालदेखी कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन नहुदै शिक्षक कर्मचारी थप्दा तनाव सिर्जना हुन सक्ने उनले औंल्याए ।
यसरी नियम विपरीत आफ्ना मान्छे व्यवस्थापन गर्ने नाममा समायोजनको पुर्व सन्ध्यामा विभिन्न क्याम्पसमा गरिएको शिक्षक कर्मचारीको नियुक्तिको विश्वविद्यालय हाता र बाहिर बिरोध हुन थालेको छ ।
विद्यापुर जनता बहुमुखी क्याम्पसमा भएको नियुक्तिको बिरोध गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र अनेरास्ववियू क्रान्तिकारीले विज्ञप्ती निकालेका छन् । उनीहरुले मनोमानि ढंगले नियुक्ति भएको भन्दै छानबिन गरी आँगिकको प्रक्रिया अगाडी बढाउन विश्वविद्यालयसमक्ष आग्रह गरेका छन ।
विद्यापुरको क्याम्पसमा शिक्षक कर्मचारीलाई २०७४ पुस १८ गते नियुक्ति गर्ने निर्णय गरिएपनि ०७५ असार १ देखि लागू हुनेगरी उनीहरुलाई पूर्णकालीन अस्थायी नियुक्ति दिइएको हो ।
प्रतिकृया दिनुहोस्