१० साउन, काठमाडौं । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् ।
पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा हाेटल पुरिँदा अहिलेसम्म ४ जनाकाे ज्यान गएकाे र ११ जना सम्पर्कविहिन भएकाे अनलाइनखबरलार्इ जानकारी दिए ।
पहिराेमा ज्यान गुमाएका र हराइरहेकाहरूकाे पहिचना खुलेकाे छैन । बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलकाे अनुमान छ । पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिए ।
अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेलले बताए । ‘उद्धार तथा खोजी कार्यलाई सडक अवरुद्ध हुँदा केही समस्या भएको छ’, प्रजिअ पौडेलले अनलाइनखबरसँग भने, ‘तैपनि हामीले उद्धार तथा खोजी कार्यलाई गति दिएका छौं ।’
टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।
प्रतिकृया दिनुहोस्