१० साउन । सिरियाको दक्षिण–पश्चिमी क्षेत्रमा लगातार भएका आत्मघाती बम आक्रमणमा कम्तिमा २१५ जनाको ज्यान गएको स्थानीय सरकारी अधिकारी तथा मानव अधिकारवादी समूहले बताएका छन् ।
बिद्रोही समूह इस्लामिक स्टेट, आइएसले एकपछि अर्को गर्दै गरेको बम आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको हो । सरकारको नियन्त्रणमा रहेको मुख्य शहर सुवेइदामा बुधबार आत्मघाती आक्रमण भएका हुन् ।
आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणपछि शहरको पूर्व क्षेत्रमा सरकारी सेना र आइएसका लडाकुबिच भिडन्त भएको थियो ।
रुसको साथ पाएको सिरियाली सेनाले पछिल्लो समय देशको दक्षिणमा बिद्रोहीको कब्जामा रहेका क्षेत्र नियन्त्रणमा लिने अभियान सुरु गरेको छ । बुधबार भएको आक्रमण पछिल्ला केही महिना यता सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा बिद्रोहीको तर्फबाट भएको ठूलो आक्रमण हो ।
सुवेइदासहित उत्तर र पश्चिमका गाउँमा आत्मघाती बिस्फोट भएको मानवा अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । अब्जरभेटरीका अनुसार कम्तिमा २२१ जनाको ज्यान गएको छ । त्यसमा १२७ जना सर्वसाधारण हुन् ।
प्रतिकृया दिनुहोस्