१० साउन । लक्ष्मी बैंकले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसी र लक्ष्मी बैंक काठमाडौंका प्रमुख सञ्चालन अधिकृत भुवल राईले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
प्रत्येक स्थानीय तहमा ‘क’ वर्गको वाणिज्य बैंक पुर्याउने नीति अनुसार शाखाको स्थापना गरिएको शाखा प्रवन्धक राजन केसीले जानकारी दिए । स्थानीयवासीलाई सहज बैंकिङ सुविधा प्रदान गर्नका लागि वित्तिय सचेतना, बचत जम्मा, कर्जा प्रवाह, विप्रेषण लगायत वाणिज्य बैंकले गर्ने सबै सेवा यस शाखाबाट प्रवाह गरिने शाखा प्रबन्धक केसीले बताए ।
बैंकको स्थापना संगै कारोबारका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए । ‘अब तत्कालै गाउँपालिकाको चालु र पुँजीगत सबै खाताहरु यसै शाखा मार्फत सञ्चालनको अनुमतिका लागि राष्ट्रिय वाणिज्य बैंकमा पत्राचार गरिनेछ', उनले भने- ‘अनुमति प्राप्त हुनासाथ हाम्रो सबै कारोबार यहीँबाट हुनेछ ।’
गाउँपालिकामा बैंक नहुँदा यसअघि सबै योजनाको सम्झौता, कामकाज र चेक भुक्तानी यहाँबाट भएपनि चेक साट्न सदरमुकाम खलंगा जाँदा संघीयताको आभाष हुन नसकेको र अहिले वास्तविक संघीयताको महशुस भएको उनले बताए ।
शाखा स्थापनाको पहिलो दिन मात्र एक सय १० जनाको नयाँ खाता खोलिएको बैंकले जनाएको छ । लक्ष्मी बैंकको यो शाखा देशभरको ९३ औँ र रुकुम पश्चिमको चौथो शाखा हो । यसअघि रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाकामा यस बैंकको शाखा विस्तार भईसकेको छ ।
प्रतिकृया दिनुहोस्