११ साउन । नेपाल र चीनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तत्थ्य बाहिर आएको छ ।
कर नतिरेर नाम्खा ६ लिमीका ब्यापारी तन्जन लामाले यारी नाका भन्सार कार्यालय हुदै तिब्बतको ताउलाकोट निकासी गर्न लागेका ३ लाख बढी मुल्यका चाँदीले मोडेको काठका भाँडा (फुरु) तथा अन्य सामानको भ्याट वापत भन्दै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको निर्देशनमा यारी नाका भन्सार कार्यालयले २७ हजार ५ सय ६० रुपैया असुलेको १ दशक देखि तिब्बतको ताउलाकोटमा ब्यापार गर्दै आएका नाम्खा गाउँपालिका १ हेप्काका सुनाम लामाले बताए ।
भन्सारको नियम अनुसार सामान देश बाहिर निकासी गर्दा चाहे १ केजी होस या १ ट्रक नै होस निकासी बापत शुल्क १ सय १३ रुपैया बाहेक अरु केही पनि लाग्दैन । आफू कार्यालयको काममा काटमाडौं आएकाले के का लागि रकम उठाएको हो सो कुरा आफुलाई जानकारी नभएको यारी नाका भन्सार कार्यलयका प्रमुख रामचन्द्र भट्टले बताए ।
यसरी उठाएको रकम सरकारी खातामा नगएर व्यक्तिको खल्तीमा जाने ताउलाकोट ब्यापार संघका सदस्य छिरीङ टसी लामाले बताए । प्रमुख जिल्ला अधिकारीले भने स्थानीय ब्यापारीले राज्यलाई कर नतिरी सामान ल्याएकाले आफूले भन्सारका कर्मचारीलाई हिसाब गरेर भ्याट बराबरको रकम लिन निर्देशन गरेको बताए ।
भन्सारमा राजस्व संकलन गर्ने रसिद हुँदाहुँदै व्यापारीबाट रकम उठाएर सेतो कागजमा रकम बुझेको प्रमाण दिनु सरासर गलत नियत भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख राजन रेग्मीले बताए । उनले भने, 'यसरी उठाएको रकम कुनै पनि हालतमा सरकारी खातामा जम्मा नगरी सिधै व्यक्तिको खातामा जान्छ ।'
भन्सार विभागले भने निकासी हुने सामानमा भ्याट लिन नपाउने जनाएको छ । कर उठाउने जिम्मा कर कार्यालयको भएको भन्सार विभागका महानिर्देशक तोयम रायले बताए । उनका अनुसार यारी नाका भन्सार कार्यालयले गरेको काम सरासर कानुन विपरित हो ।
यारी भन्सारमा भएको यो घटना पहिलो पटक भने होइन । वर्षको अधिकांश समयमा कर्मचारी नखटिने, खटिएपनि यसरी कानुन विपरित रकम असुली हुँदा सरकारले बर्षेनी लाखौ रकम गुमाउदै आएको छ ।
प्रतिकृया दिनुहोस्