Birendranagar Municipality

सडक बनाउन भीर फुटाउँदै नेपाली सेना

रत्न भण्डारी/हुम्ला
सडक बनाउन भीर फुटाउँदै नेपाली सेना

१२ साउन । तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्न नेपाली सेना यतिखेर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको हल्गाडे भीर फुटाउन ब्यस्त छ । कर्णाली करिडोर अन्तर्गत खुलालु लैफु सलिसल्ला खण्डकोे डरलाग्दो हल्गाडे भीर फुटाउन नेपाली सेना बिहानदेखि बेलुका अबेरसम्म खटिएको हो ।

 

हालसम्म सेनाले गरेको काम सन्तोषजनक, तीब्र र स्तरीय भएकोले समयमा सम्पन्न हुनेमा स्थानीय ढुक्क रहेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताए । अहिले हुम्ला जिल्लाकै असजिलो ठाउँ दोमुख, कटकुना र हल्गाडे क्षेत्रमा निर्माण भएको सडक हेर्दा सेनाको कामप्रति कुनै प्रश्न उठाउने ठाउँ नभएको उनले बताए ।

 

डरलाग्दो भिरमा केही सम्पर्क गर्ने माध्यम पनि छैन, तर पनि सेना जोशका साथ कम्मरमा डोरी बाँधेर भिरमा काम गरिरहेको अदानचुली–२ का स्थानीय परबहादुर बुढाले बताए । खुलालु सलिसल्ला खण्डको कवाडीदेखि सलिसल्ला क्षेत्र हुम्ला जिल्लमा पर्छ । त्यस क्षेत्रका कुल लम्बाइमध्ये ८ देखि १० किलोमिटर चट्टानको भाग छिचोल्नु निकै कठीन मानिएको छ ।

 

त्यस खण्डको कवाडीदेखि सलिसल्लासम्मको ६१ किलोमिटर बाटोको निर्माण कार्य दुई वर्षमा सक्ने गरी नेपाली सेनाले काम गर्ने जिम्मा पाएको निर्माण दलका इन्जिनियर मेजर मिलन कार्कीले बताए । सेना अहिले बर्षाको पानीको प्रबाह नगरी काममा लागेको छ ।

 

हालसम्म सेनाले हुम्ला क्षेत्रमा ११ किलोमिटर बाटोको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा गरेको कार्कीले जानकारी दिए । सेनाको १५ जनाको टोली ११ समूहमा विभाजित भएर हाल सडक निर्माण कार्य गरिरहेको पनि उनले बताए ।

 

सेनाका लागि दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्री र बिष्फोटक पदार्थ सबै सेनाको हेलिकोप्टरबाट आपूर्ति भइरहेको छ । यता सलिसल्ला सिमकोट खण्डको ५० किलोमिटर बाटोमा सिमकोट हिल्सा सडक आयोजनाले काम गरिरहेको छ ।

२०७५ साउन १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्