Birendranagar Municipality

तरकारी खेतीले बदलियो जीवन

पंखबहादुर मल्ल/कालिकोट
तरकारी खेतीले बदलियो जीवन

साउन १४ । तिलागुफाका महिलाहरुको जीवन तरकारी खेतीवाट बदलिएको छ । सामान्य आवश्यकता पुरा गर्दा श्रीमानको भर पर्नुपर्ने यहाँका अधिकांश महिलाहरु अहिले तरकारी खेति गरेर आयआर्जन बढ्न थालेपछी उनीहरुको जीवन रुपान्तरण समेत भएको छ ।


तिलागुफा ६ का अगुवा कृषक रेशमा शाहीले बारीमा आलु, बन्दा, काउली, काँक्रा लगायतका तरकारी उत्पादन गर्ने गरिकी छन् । रेशमाले एक सिजनमा कम्तिमा ३ देखि ५ क्वीन्टल विभिन्न प्रकारको तरकारी उत्पादन गर्ने बताइन । उनले तरकारी खेतीबाटै आफ्नो सम्पुर्ण खर्च चलाइरहेकी छन् ।


‘पहिला विउँ विजन पाउँनै गाह्रो हुन्थ्यो । आजकाल मौसम अनुसारको तरकारीको विउँ पाइन्छ ।’ रेशमाले भनिन ‘म जस्तै धेरै महिलाले तरकारी खेती गरेकी छौ ।’ तरकारी उत्पादन गरेर छोरा छोरीलाई स्कुल खर्च चलाउनुका साथैघरमा राम्रो आम्दानी हुने गरेको कृषक शाहीले बताइन् ।


रेशमा शाहीको तरकारी खेतीबाट प्रभावित भएर राधिका शाहीले पनि तरकारी खेती गर्न सुरु गरिन् । ‘तरकारी उत्पादन गरेर गाल्जे बजार र नाग्म बजारसम्म विक्री गर्न जान्छौ । मेहनत गर्ने हो भने, रुपैयाँ खोजेर बाहिर जानुपर्ने आवश्यकता नै रहेनछ ।’


व्यवसायीक कृषि पाठशाला निर्माण गरेर यहाँका महिला कृषितर्फ निकै उत्साहित भएका छन् । उत्पादीत तरकारी तिलागुफा नगरपालिका ६ मा पर्ने गाल्जे बजार नजिकै विक्री वितरण गर्ने गरेका छन् ।


तरकारी खेतीबाट चाँडै आम्दानी गर्न सकिने भएकोले जिविकोपार्जन गर्न सहज हुने भन्दै उनीहरु तरकारी खेतीमा सक्रिय भएका हुन ।


विकास परियोजनाले तिलागुफा नगरपालिकाका किसानलाई राम्रो टेवा पुर्‍याएको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत धक्तिराम शर्माले बताए । ‘विशेष गरी तरकारी उत्पादन खेतीमा महिलाहरुको सक्रियता रहेको छ । मेहनति महिलाहरुले यसैबाट घरखर्च चलाउने गरेका छन्’ शर्मा भन्छन् ।


तरकारी खेतीले राम्रो खान, लाउन, छोराछोरीलाई पढाउन पुग्नुका साथै बचतसमेत हुने गरेको महिलाहरुको भनाई छ ।


तर उत्पादित तरकारीले बजार नपाउँदा भने किसानहरु निराश छन् । पाठशाला बाहेकका बिचौलियाका कारण आफूहरुले उचित मूल्य नपाएको उनीहरुको गुनासो छ । ‘लामो समयदेखि विभिन्न किसिमका तरकारी उत्पादन गर्दैै आएकी छु,’ उनले भनिन् ‘धेरै मेहनत गरेर तरकारी फलाउँछौं तर व्यापारीहरूले उचित मूल्य नै दिँदैनन् ।’


सिँचाइ सुविधा राम्रो भएमा अझै तरकारी उत्पादन गर्न जाँगर लाग्ने स्थानीय महिलाको भनाइ छ ।

२०७५ साउन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्